अनाधिकृत रुख काट्ने जनप्रतिनिधिविरुद्ध पुर्जी काटेको दुई हप्ता बितिसक्दा पनि परेनन् पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकता सार्वजनिक जग्गा ब्यवस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा कटान गरेको मुद्दामा नवलपरासी जिल्ला अदालत परासीले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेमा प्रतापपुर गाउँपालिकाका कार्यपालिका सदस्य खेम नारायण चौधरी, वडा नम्बर ९ का वडा सदस्य विरेन्द्र कुमार चौधरी र सोही वडाका दश बहादुर चौधरी रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको दुई हप्ता वितिसक्दा पनि पक्राउ परेका छैनन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्नका लागि सहयोग गरिदिन भन्दै भदौ १५ गते वन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । वनसँग जोडिएको विषय भएकोले पक्राउ गर्नका लागि वनका कर्मचारीहरुको सकृयता नभएको प्रहरीको भनाई छ । पक्राउ गर्ने कार्यमा सहयोग गरिदिन पत्राचार गर्दा पनि प्रहरीले तदारुकता नदेखाएको वन कार्यालयले बताएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरु जनप्रतिनिधि भएकै कारण विभिन्न बाहानाबाजी बनाएर पक्राउ गर्न ढिला गरेको स्थानिय बताउँछन् । “विभिन्न बाहाना गराई वनले प्रहरीलाई देखाउने र प्रहरीले वनलाई देखाउने गर्दै बाहानाबाजी गरीरहेका छन ।” प्रतापपुर ९ निवासी एक स्थानीयले भने ।

कटान छपान स्वीकृति नलिई रुख कटान भएपछि जिल्ला वन कार्यालयले कारवाहीको प्रकृया अगाडि बढाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पक्राउ आदेश जारी गरेसँगै डिभिजन वन कार्यालयले सक्रियता देखाउनु पर्नेमा कार्यालयले प्रहरीलाई पत्राचार गरी सहयोग गरिदिन आग्रह गर्नु बाहेक थप कार्य केही पनि गरेको छैन ।

डिभिजन वन कार्यालयका नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्र वाग्लेले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पक्राउ गर्न हामीले भदौ १५ गते प्रहरीलाई पत्राचार गरेका छौं । प्रहरीले खोजी गर्दै होला । ” पक्राउ कार्यमा खट्नु पर्ने वन कार्यालयका प्रमुख नै प्रहरीतर्फ देखाएर तर्किएका छन् । पक्राउ पुर्जी जारी भएको दुई हप्ता वितिसक्दा पनि वनले फरारहरुलाई पक्राउ गर्न कुनै पहल गरेको छैन ।

वन कार्यालयले प्रहरीले पक्राउ गर्ने बताईरहँदा वनले पक्राउ गर्ने सक्रियता देखाए आफुहरु सहयोग गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, “वनले हामीलाई पत्र पठायो तर त्यसपछि कुनै सक्रियता देखाएको छैन । वन कार्यालयका साथीहरु अगाडि लागे प्रहरी सहयोग गर्न तयार छ ।”

गण्डक नहर क्षेत्रमा लगाईएका ४९ वटा रुख काटिएको विषय विवादित भएसंगै अदालतबाट पक्राउ पुर्जी जारी गर्ने सम्म पुगेको छ । काटिएका रुखहरु वडा नम्बर ९ को कार्यालयको जिम्मामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?