प्रधानमन्त्री प्रचण्डद्वारा हाङझाव एसियाडमा सहभागी नेपाली टोलीको बिदाइ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले टोलीलाई बिदाइ गर्नुभएको हो । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९औँ एसियाडमा कुल २९ खेलमा नेपालका २५३ खेलाडी सहभागी हुँदै छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गर्दै ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू पनि एसियाडको उद्घाटन सत्रमा सहभागी हुने जानकारी गराउनुभयो ।

उहाँले खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९औँ एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरूको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने विश्वास व्यक्त गर्नुभयो ।

एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद नतिजा आउने सदस्यसचिव घिसिङले बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले सिंगो नेपाली जनता खेलाडीहरूको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गर्नुभयो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घन्टौँसम्म लाइनमा बस्नुपर्ने दुखद अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरूका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बूले बताउनुभयो ।

हाङझाव एसियाडमा ४५ राष्ट्रका १२ हजार ५०० खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन् ।

नेपालका तर्फबाट १२७ महिला र १२६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । बिदाइका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अगाडि समयमा नै सरकारद्वारा बजेटको सुनिश्चिता भएर नेपाली खेलाडीले तयारी गर्न पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

राखेपले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो ।

नेपाली टोलीको सेफ दी मिसनमा सदस्यसचिव घिसिङ तथा डेपुटी सेफ दी मिसनमा राखेप बोर्ड सदस्य अन्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?