सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा

Read Time = 3 mins

काठमाडौँ । सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातार दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ ।

कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सुर्य कर्पोरेशनका सिईओ बासुदेव लामिछाने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकारलगायतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरु गर्दै आएको बताउनुभयाे । झन्डै ६ दर्जन कलाकारहरुसहित जापानमा नोमिनेशन कार्यक्रमको तयारी शुरु हुने पनि लामिछानेले बताउनुभयाे ।

फिल्म तर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समाबेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गीतका गायक र गायिका गरी ६ वटा विधा समाबेश छ ।

अवार्ड समारोहमा लाईफ टाईम एचिभमेन्ट अवार्ड, बर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारीता पुरस्कार पनि बितरण गरिनेछ ।

यसै बर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै फिल्मको संगीत तर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएका ब्यक्तिहरुको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?