सन्दीपको टोली सर्रे फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको टोली सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितका लागि १४० रनको विजयी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा समेटियो । नाइट्सका लागि फबिएन एलेनले २० बलमा दुई चौका र दुई छक्कासहित २७, मोहम्मद रिजवान चार र नाजिबउल्लाह जद्रान १५ रनमा आउट हुनुभयो ।

सर्रेका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले २.४ ओभरमा १६ रन खर्चेर चार विकेट लिनुभयो । यस्तै, सन्दीपले तीन ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इख्तिखर अहमदले २८ बलमा दुई चौका र दुई छक्कासहित ३६ रन बनाउनुभयो । त्यसबाहेक मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाउनुभयो ।

नाइट्सका लागि तीव्र गतिका बलर जुनैद सिद्दिकले चार ओभरमा २२ रन खर्चेर चार विकेट लिनुभयो । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिनुभयो । फाइनल खेल आइतबार हुनेछ ।

यस्तै, दीपेन्द्रसिंह ऐरीको टोली मोन्टरिएल टाइगर्स पनि दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई नौ विकेटले हराउँदै मोन्टरिएलले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

जितका लागि १०५ रनको सामान्य लक्ष्य टाइगर्सले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा सात चौका र तीन छक्कासहित ६३ रनमा नट आउट रहनुभयो । यस्तै, श्रीमन्था विजयरत्ने १५ बलमा दुई चौकासहित १५, मोहम्मद वासिमले २४ बलमा दुई छक्कासहित २३ रन बनाउनुभयो ।

त्यसअघि वल्भसले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका आरोन जोनसनले २५ बलमा तीन चौका र एक छक्कासहित ३१ रन बनाउनुभयो । उस्मान खान ११, कोलिन डी ग्रान्डहोम २० र मार्क च्यापम्यानले ११ रन बनाउनुभयो ।

नेपालका दीपेन्द्रले एक ओभरमा ६ रन खर्चेर एक विकेट लिनुभयो । कार्लोस ब्रेथवेट र आयन खानले समान दुई विकेट लिनुभयो । दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?