मह बेचेर मनग्य आम्दानी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 8 mins

बैतडी । घरबाहिरको भित्तामा लहरै मौरीका घार राखिएका छन् । स्थानीय जंगलको काठबाट मौरीका घारहरू बनाइएका छन् । घरमा घार राख्न ठाउँ नभएपछि बाटो तथा भिरमा समेत मौरीका घारहरू राख्नुभएको छ बैतडीको सुर्नया गाउँपालिका-७ छिडामालमका प्रेमबहादुर विष्टले । उहाँसँग अहिले ७० घार स्थानीय जातका मौरी छन् । २५ वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध बिष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ । स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउनुहुन्छ । ‘सानोबाटै मौरीपालनको सुरुवात गरेको हुँ । बढाउँदै यहाँसम्म ल्याइपु¥याएको छु । घार राख्ने ठाउँ नभएर बाटोको किनार र भिरपाखामा पनि राखेको छु,’ विष्टले भन्नुभयो ।

दैनिक दुई हजारजना रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाइरहनुभएको छ । मह बेचेर नै उहाँले घरपरिवार धानिरहनुभएको छ । बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १२ सयदेखि १५ सय रूपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ । वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । ‘चैत–वैशाखको बीचमा एकपटक र कात्तिक-मंसिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ,’ उहाँले भन्नुभयो, ‘हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ ।’

आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै धौ–धौ हुने गरेको छ । ‘आधुनिक घारहरू छैनन्,’ उहाँले भन्नुभयो, ‘काठको परम्परागत घारहरूमा जंगली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।’

प्राविधिक ज्ञान नहुँदा व्यवसाय वृद्धि गर्न समस्या
लामो समयदेखि मौरीपालन गरिरहेका विष्टले हालसम्म कुनै निकायबाट सहयोग पाउनुभएको छैन । केही प्राविधिक तथा व्यावसायिक रूपमा मौरीपालनबारे तालिमसमेत पाएको अवस्थामा व्यवसाय वृद्धि गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । ‘अनुदान त परै जाओस्, सामान्य तालिम पनि पाइएन, रानी मौरीका व्यवस्थापनका बारेमा समेत तालिम पाएको छैन,’ विष्ट भन्नुहुन्छ, ‘आधुनिक घार र मौरीपालनबारे प्राविधिक तालिम पाए भने दुई सयभन्दा बढी घारमा मौरी पाल्न सक्छु ।’

सुर्नया गाउँपालिका-७ को उक्त छिडामालम टोल मौरीपालनका लागि राम्रो सम्भावना रहेको अर्का स्थानीय वीरेन्द्र विष्टले बताउनुभयो । ‘यहाँ प्राकृतिक रूपमा पनि राम्रो ठाउँ छ, मौरीपालनको हबका रूपमा यस क्षेत्रलाई विकास गर्न सकिन्छ,’ वीरेन्द्र भन्नुहुन्छ । वीरेन्द्रले पनि १५ घार मौरी पाल्नुभएको छ । सुर्नया गाउँपालिकामै मौरीपालन व्यवसायलाई वृद्धि गर्न सकिने वीरेन्द्र बताउनुहुन्छ ।

मौरीपालन गरिरहेका किसानहरूका लागि अनुदान कार्यक्रम ल्याउन लागेको सुर्नया गाउँपालिकाले जनाएको छ । मौरीपालन व्यवसायलाई आधुनिक प्रविधिको मौरीपालन गर्न प्रेरित गर्ने, घार व्यवस्थापनलगायतका कार्यक्रम ल्याउन लागेको सुर्नया गाउँपालिकाका कृषि शाखा प्रमुख नरेश विष्टले बताउनुभयो । परम्परागत रूपमा मौरीपालन व्यवसाय गरिरहनुभएको र व्यवसाय वृद्धिका लागि कार्यक्रम ल्याइने उहाँले जानकारी दिनुभयो ।

मौरीपालन व्यवसायका लागि आएको बजेट फ्रिज
मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारबाट आएको बजेट फ्रिज भएर गएको देखिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि आएको बजेट फ्रिज भएर गएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले बताउनुभयो । ‘हामीले पनि सूचना खोलेनौँ, कोही आवेदन लिएर पनि आएनन्, त्यसपछि कार्यक्रम कार्यान्वयन गर्न सकिएन, कोही मौरीपालन व्यवसायसँग जोडिएका किसानहरूले सम्पर्क गरेको भए, कार्यान्वयन गर्न सकिन्थ्यो,’ अधिकृत चन्दले भन्नुभयो ।

मह उत्पादनमा वृद्धि
बैतडीमा मह उत्पादन बढ्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्यांकअनुसार जिल्लामा मह उत्पादन बढ्दै गएको पाइएको हो । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलब ४५ मेट्रिकटन मह उत्पादन भएको छ । यस्तै, २०७८/७९ मा १४ दशमलब २० मेट्रिकटन र गत आर्थिक वर्षमा २० दशमलब ६४ मेट्रिकटन मह उत्पादन भएको छ ।

चरन क्षेत्र बढ्नुका साथै आधुनिक घारको बढ्दो प्रयोगले जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताउनुभयो । ७८/८९ मा मौसममा आएको खराबीले मह उत्पादन केही घटे पनि गत वर्ष बढेको उहाँले बताउनुभयो । यहाँका नागरिकहरूले उत्पादित मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । जथाभावी वन फँडानी नगरी मौरीको चरन क्षेत्र विस्तारमा ध्यान दिए अझै मह उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका, सिगास गाउँपालिकाको गाँजरी, ढुंगगाड, मेलौली नगरपालिकाको विशालपुर मह उत्पादनको पकेट क्षेत्र मानिन्छन् । यस्तै, दोगडाकेदार गाउँपालिकाको श्रीकोट, देउलेक, सित्तड, डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर पनि मह उत्पादनको पकेट क्षेत्र हुन् । बैतडीमा आधुनिक र परम्परागत गरी २८ सय ५० मौरीका घार रहेका कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?