एकदिनका लागि मात्रै बाल दिवस किन ?

नारामा सीमित नेपालको राष्ट्रिय बाल दिवस

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 9 mins

आजका कोपिला भोलिका फुल हुन् बालबालिका, माटोको भाडालाई हामि जस्तो आकृति दिन्छौँ त्यो त्यस्तै बन्दछ, त्यसरी नै बालबालिकाहरुलाई हामि जस्तो बनाउन खोज्दछौँ त्यस्तै बन्छन् । सामाजिक परिवेश र राजनैतिक अबस्थाले पनि बालबालिकालाई कता तिर धकेल्ने भन्नै निर्णय गर्दछ ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा विसं २०२१ बाट बाल दिवस मनाउन थालिएको भएपनि २०६३ सालदेखि यसले देशैभर व्यापकता पाएको थियो । २०६३ साल अघिसम्म भदौ ४ मा मनाइने गरिएको बाल दिवस विगत १७ वर्षयता भदौ २९ गते मनाउन थालिएको छ ।

बाल दिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउने अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपालले १४ सेप्टेम्बर १९९० अर्थात २९ भदौ २०४७ मा अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णयअनुसार नै २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो ।

बालदिवसको अवसरमा मूल नारा तय गरिन्छ अनि सो विषयमा केन्द्रित कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गर्ने गरिन्छ । तर पनि आजसम्म बालअधिकारका कुरा भने नारामा मात्रै सीमित देखिएका छन् ।

यस वर्ष पनि नाराको पछिल्लो भागमा ‘‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ लेखिएको छ । तर सरकार आफैँले लेख्ने गरेका नारा व्यवहारमा भने लागू गरेको पाइँदैन ।

वर्ष फेरिन्छ अनि वर्षसँगै नारा पनि फेरिन्छ तर बालबालिकाको अवस्था भने ज्यूँका त्यूँ । बालअधिकारको सुनिश्चितता, संरक्षण र बालबालिकाको विषय त अहिलेसम्मका नाराहरूमा समेटिएका नै छन् । तर नारामा भनेजस्तै गरी बालबालिका चाहिँ किन समेटिँदैनन् ?

के दिवस मनाउनका लागि मात्र नारा बनाइने गरिएको हो त ? यो प्रश्नको उत्तरका लागि हामी सबैले म-म गर्नुपर्ने देखिएको छ ।

नारामा उल्लेख गरिएजस्तै कुनै पनि बालबालिका आफ्ना हक अधिकारबाट बञ्चित हुन नपरोस् । आज बाल दिवसको अवसरमा मात्रै नभई म, तपाईं, सम्बन्धित निकाय र सरकार बालअधिकारप्रति सदैव संवेदनशील हौँ । प्रत्येक बालबालिकालाई सहज र सचेत गराउँदै उनीहरूको वृद्धि विकासप्रति सजग हौँ ।

बालदिवस कस्तो हुनुपर्छ वा बाल दिवस कसरी मनाउनु पर्दछ भन्न विषय त आम रूपमा उठिरहेकै हो । तर पनि बाल दिवस औपचारिकतामा मात्रै सीमित भइरहेको छ । बालबालिकाका निम्ति चाहिने आधारभूत हक र अधिकार संविधानको दफामा मात्र त सीमित छ ।

दिवसलाई कसरी मनाइयो भन्दा पनि दिवसले बालअधिकारका क्षेत्रमा कस्तो परिवर्तन ल्याउन सफल भयो भन्ने महत्वपूर्ण हो । बाल दिवस मनाउन लाखौँ खर्च गर्ने हामी त्यसपछिका दिनमा बालबालिकाको अवस्था थाहा पाउन के गर्छौँ ? अध्ययन गर्छौँ ? यी प्रश्नको जवाफ बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था, जनप्रतिनिधि र सरकारले दिनुपर्छ । उत्तर छैन् भने यस पटकको बाल दिवसबाट उत्तर खोज्न लाग्नु पर्छ ।

विगतभन्दा तुलनात्मक सुधारहरू देखिए पनि गुणात्मक र सङ्ख्यात्मक हिसाबले हेर्दा अझै पनि गाँस-बाँस-कपास लगायत शिक्षा, स्वास्थ्य, सरसफाई, पोषण जस्ता आधारभूत आवश्यकताबाट बालबालिका अझै वन्चित छन् ।

युनेस्कोले तयार पारेको पछिल्लो प्रतिवेदनका अनुसार गरीबी घट्दो क्रममा रहे पनि नेपालका दुई तिहाइ बालबालिका सात अति आधारभूत आवश्यकतामध्ये शिक्षाबाट वन्चित छन् । यसतर्फ हामी सबैले आजको ५९ औँ बाल दिवसबाट विशेष ध्यान दिन आवश्यक छ ।

नारामा उल्लेख गरिएजस्तै कुनै पनि बालबालिका आफ्ना हक अधिकारबाट बञ्चित हुन नपरोस् । आज बाल दिवसको अवसरमा मात्रै नभई म, तपाईं, सम्बन्धित निकाय र सरकार बालअधिकारप्रति सदैव संवेदनशील हौँ । प्रत्येक बालबालिकालाई सहज र सचेत गराउँदै उनीहरूको वृद्धि विकासप्रति सजग हौँ ।

वर्षमा एक दिनमात्र पर्ने बाल दिवसका नारालाई वर्षैभरि मनाऔँ र व्यवहारमा लागू गरौँ । उनीहरूको सुन्दर भविष्य निर्माणप्रति गम्भीर हुँदै जिम्मेवार र उत्तरदायी बनौँ । राष्ट्रिय बाल दिवसको सम्पूर्ण बालबालिकालाई हार्दिक शुभकामना !

नेपालमा बाल अधिकारको अभ्यास

बालबालिकासम्बन्धी महासन्धि, १९८९ अनुमोदन गरेपछि नेपालमा बालबालिका ऐन, २०४८ आयो । यो कानुन कार्यान्वयनका क्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो ।

अहिले केन्द्रीय बाल कल्याण समन्वय समितिअन्तर्गत प्रत्येक जिल्लामा बालकल्याण समन्वय समितिले बालबालिकाको हितमा नीति तथा कार्यक्रम बनाउने गरेका छन् । कानुन उल्लंघन गर्ने बालबालिकालाई छुट्टै कानुनी प्रक्रियामा ल्याउन बाल न्याय समन्वय समिति गठन, बाल इजलास र बाल सुधार गृहको व्यवस्था अन्य उदाहरणीय काम हुन् ।

हामीकहाँ बालबालिकाको शैक्षिक अधिकारका लागि पनि काम भएको छ । छोराछोरी दुवैका लागि मावि तहसम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिएको छ । शिशु स्याहार केन्द्र, मन्टेसरी, चिल्ड्रेन फनपार्क, बाल संसार, बालबाटिका, बाल पत्रपत्रिका प्रकाशनलगायतले गर्दा तिनको मनोरञ्जन, कलात्मक सिर्जना र सम्प्रेषणको अधिकार प्रत्यायोजन भएको छ तर सडक बालबालिका तथा गरिब एवं दुर्गमका बालबालिका भने आधारभूत अधिकारबाट अझै वञ्चित छन् ।

खेल्नु, कुद्नु, रमाउनु, अनौठा-अनौठा जिज्ञासा राख्नु, चकचक गर्नु, चुलबुले हुनु बालबालिकाका राम्रा विशेषता हुन् । तिनको शारीरिक-मानसिक विकासका लागि यी विशेषता नितान्त आवश्यक छन् । त्यसैले हरेक आमाबुबाले आफ्ना बालबच्चाको मनोभावना बुझ्न तीसँग गुणस्तरीय समय बिताउनुपर्छ ।

माया, ममता, सद्भाव र सुरक्षाको अनुभूति दिलाउनुपर्छ । आमाबुबालाई सामान्य लाग्ने विषयले बालबालिकाको शारीरिक-मानसिक विकासमा उल्लेख्य भूमिका खेल्ने गर्छ ।

  • लेखक बिश्वकर्माले पत्रकारितासँगै जातीय विभेद र बालबालिकाको क्षेत्रमा कलम चलाउँदै आइरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?