प्रधानमन्त्रीको चीन भ्रमणमा राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेटवार्ता हुने

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे शुक्रवार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताउनु भयो ।

यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई न्युयोर्कमा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने बताउनु भयो ।

उहाँले अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी भई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवबाट निमन्त्रणा भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र समुन्नत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरुलाई विश्व समुदाय समक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको छु । यसैगरी यसैवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महाकारीका कारण सृजित स्वास्थ्य चुनौतिहरु, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रवन्ध लगायतका संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका मुलुकहरुसँग साझा चासो एवं सरोकारका विषयहरुमा गहन रुपमा छलफल हुनेगरी साईडलाईनमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा सहभागी हुन समेत मलाई नियन्त्रणा प्राप्त भएको छ । यस वर्षदेखि अल्प विकसित राष्ट्रहरुको तर्फबाट सो समूहको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरुमा विभिन्न मंचहरुमा आफ्नो धारणा राख्नुपर्ने जिम्मेवारी पनि हामीलाई आएको छ । त्यसकारण यो सधैं प्राप्त हुने अवसर होइन । यो विशेष कालखण्डमा विशेष कारणले यो अवसर हामीलाई प्राप्त छ । यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भाद्र ३० मा संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कतर्फ जाने मेरो तयारी रहेकोे छ । भ्रमणका लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ । सभामुख महासभामा आफूले असोज ४ मा महासभालाई नेपालको तर्फबाट मैले सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको छ । सो अवसरमा नेपालका हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियलाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने रहेको छ । संयुक्त राष्ट्र संघको महासभको उच्चस्तरीय सत्र पश्चात असोज ५ गते छिमेकी मुलुक गणवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङजाओ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्र संघको गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बन्न गएको हो । नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण घनिष्ट सम्बन्ध रही आएको छ । र, हालैका विषयहरुमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा व्यापक र थप घनिष्ट बन्दै गएको छ । चीन नेपालको लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गिण विकासमा सहयोग गर्दै आएको छ । नेपालको प्रधानमन्त्रीको हैसियतमा नेपालको यो तेस्रो चीन भ्रमण हो । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस भ्रमणलाई नेपाल र नेपाली जनताको हीत एवं नेपाल चीन सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने कुरामा म यस सम्मानित सदनलाई अवगत गराउन चाहन्छु । हाङजाओमै चिनिया राष्ट्रपति महामहिम शि जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको छ ।’

प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो । भ्रमण दल छोटो र छरितो रहेको पनि उहाँले दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?