संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो । ‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

त्यसैगरी, सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ ।
सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रूपमा समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत गरेको छ । विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेको थियो ।

यस्तै, शुक्रबारको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने, सिँचाइ नीति, २०८० स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने जस्ता निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?