प्रधानमन्त्रीको अमेरिका भ्रमण

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन विश्व समुदायलाई आश्वस्त पार्ने अवसर

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जानुभएको हो । प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्नुहुने छ ।

उहाँले विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिनुहुने छ । आगामी असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत अन्य महत्वपूर्ण कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।

उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै न्युयोर्क बसाइका क्रममा विभिन्न देशका आफ्ना समकक्षी र प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा स्वकीय सचिवसमेत रहेकी उहाँकी छोरी गंगा दाहाल,परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी र दुईजना सुरक्षा गार्ड रहेका छन् । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सिधै चीन भ्रमणमा जानुहुने छ ।

न्युयोर्क जानुअघि राष्ट्रपतिसँग भेट
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

शान्ति प्रक्रियाको विषय प्राथमिकतामा
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन विदेशी निकायहरूको सहयोग माग्ने कुरामा केन्द्रित हुने बताउनुभएको छ । शान्ति प्रक्रिया एक हिसाबमा सफल भइसके पनि निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गर्दै सापकोटाले भन्नुभयो, ‘अमेरिका भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया सुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर, पनि यसलाई निष्कर्षमा पुर्‍याएर एकप्रकारले घोषणा गर्न बाँकी छ । यसलाई निष्कर्षमा पुर्‍याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनुपर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ । यसकारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिबद्धता जनाउनुहुने छ ।’

एजेण्डा बिनाको चीन भ्रमण
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते न्युयोर्कबाट सिधै चीन भ्रमण जानुहुने छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गर्‍यो । तर, भ्रमणका क्रममा चीनसँग हुने ठानिएका महत्वपूर्ण सम्झौताहरूबारे मन्त्रिपरिषद्मा छलफल नै भएन । मन्त्रीहरूका अनुसार चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन सम्झौता मन्त्रिपरिषद्मा पेस भएन । चीनसँग विद्युत् व्यापारको पूर्वाधार तयार गर्न विभिन्न अन्तरदेशीय प्रसारण लाइन आयोजना अघि बढाउन खोजिए पनि त्यसबारे पनि मन्त्रिपरिषद्बाट निर्णय भएको छैन । नेपालले बिआरआईमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा पनि कार्यान्वयन सम्झौता हुन सकेको छैन । २०१७ (२९ वैशाख ०७४) मा प्रचण्ड नै प्रधानमन्त्री भएको बेला नेपालले बिआरआईको सदस्य मुलुक हुने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी बिआरआईको सम्मेलनमा जाँदा रेलमार्ग, राजमार्ग, सूचना महामार्ग, बन्दरगाह सहितका नौवटा योजना सूचीकृत गरिएका थिए । तर, कार्यान्वयनको चरणमा जान सकेको छैन । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड बिआरआई परियोजना अघि बढाउनुपर्ने दबाबमा रहनुभएको छ । तर, शुक्रबार बसेको मन्त्रिपरिषद्ले ठोस निर्णय गर्न सकेन । प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसद्मा पनि चीन भ्रमणबारे जानकारी गराउनुभएको थियो । तर, चीनसँग हुने ठोस सहमतिबारे उहाँले केही बताउनुभएन ।

प्रधानमन्त्रीनिकट माओवादी केन्द्रका नेताहरूका अनुसार प्रधानमन्त्रीको आसन्न चीन भ्रमण भूराजनीतिक सन्तुलनमा केन्द्रित हुनेछ । नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीसँगको सम्झौता पारित गरेपछि खलबलिएको सन्तुलन मिलाउन दाहालको भ्रमण केन्द्रित हुने उनीहरूको दाबी छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आपसी विश्वासको आधारमा भूराजनीतिक सन्तुलन र मुलुकको आर्थिक विकासका लागि टेवा दिन केन्द्रित हुने बताउनुभयो । बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्रीको भ्रमणको तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयो, ‘भ्रमणबारे चिनियाँ अधिकारीसँग समन्वयमा काम भइरहेको छ । दुई देशबीच सम्बन्ध बलियो बनाउने गरी गृहकार्य हुँदै छ ।’ प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हुनेछ । पार्टीको अध्यक्ष हैसियतले उहाँले दुईपटक भ्रमणमा गइसक्नु भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि चीन भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन केन्द्रित रहने स्पष्ट पार्नुभएको छ । २०७९ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता अनुमोदन भएपछि चीन सशंकित भएको थियो । माओवादीकै एक पदाधिकारीका अनुसार अहिले पनि प्रचण्डप्रति चीनका धेरै प्रश्न रहेका छन् । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकमा नेताहरूले नेपालका प्रमुख दलको सहमति लिएर चीनसँग सहमति गर्न सुझाव दिएका थिए । गत पुसमा प्रधानमन्त्री निर्वाचित भएलगत्तै चीनले प्रचण्डलाई हैनान प्रान्तमा हुने बोआओ सम्मेलनमा सहभागी हुने निम्तो दिएको थियो । तर, भारत भ्रमणपछि मात्र चीन जान प्रधानमन्त्री प्रचण्डले त्यो निम्तो अस्वीकार गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?