पाल्पामा भित्रियो अवैध मल

सम्बन्धित निकाय मौन, पाएनन् किसानले

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पछिल्ला केही दिनयता पाल्पामा अवैध युरिया मल भित्रिएको खुलासा भएको छ । किसानले खेतबारीमा मल प्रयोग गर्ने समय भएका बेला धमाधम भारतीय बजारबाट भन्सार छलेर मल पाल्पा ल्याइएको खुल्न आएको हो । शनिबार मात्र भारतीय बजारबाट भन्सार छलेर ल्याउँदै गरेको ३७२ बोरा अवैध युरिया मल पाल्पा प्रहरीले बरामद गर्‍यो । जिल्लाको रम्भा गाउँपालिका-१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट दुई लाख ९७ हजार ६ सय मूल्य बराबरका ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको थियो । नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु२ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंका लागेर चेकजाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले बिल नभएको भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक १६ हजार ७४० केजी मल नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहवरमा बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

उक्त परिमाणको मल बरामद गरेको केही समयमै प्रहरीले मल भण्डारण गरी राखेको गोदाम नै फेला पार्‍यो । रामपुर क्षेत्रमा धमाधम अवैध मल भित्रिएको सुइँको पाएको प्रहरीले खोज्दै जाँदा जिल्लाको रामपुर नगरपालिका–५ बेझाडको एक सटरमा मल भण्डारण गरिराखेको फेला पारेको हो । रामपुरको बेझाडस्थित विजय श्रेष्ठको चारतले पक्की घरको भुुइँतलाको सटरमा अवैध मल भण्डारण गरी राखिएको थियो ।
अवैध मल भण्डारण गरी राखेको भनी गोप्य सूचनाका आधारमा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुुमारी थापाको संयोजकत्वमा गएको कृषि सहकारी अनुुगमनकर्ता, जनप्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधि र प्रहरीसहितको टोलीले श्रेष्ठको सटर खोली हेर्दा भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक ६५० बोरा युरिया मल फेला पारेको थियो । मल फेला पारेपछि टोलीले उक्त सटर शिलबन्दी गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशंका लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरी राखिएको मल फेला पारेको बताउनुुभयो । उहाँले भन्नुभयो, ‘सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला तोडेर हेर्दा ६५० बोरा मल फेला परेको हो, अवैधरूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ ।’ ‘अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याइएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानुनी कारबाही हुन्छ,’ डिएसपी वीरेन्द्र थापाले भन्नुभयो ।

यहाँ अवैध मल भित्रिएको मात्र छैन, किसानलाई आएको सरकारी अनुदानको मलसमेत निजी एग्रोभेटलाई बिक्री गरेको पाइएको छ । केही दिनअघि सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको युरिया मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लाको रामपुर नगरपालिका-७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको थियो । उसले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सहकारीले एग्रोलाई प्रतिबोरा एक हजार ५० का दरले बिक्री गरेको पाइएको छ । हाल किसानलाई बालीमा छर्न युरिया मल आवश्यक छ । तर, अवैध रूपमा मल भित्रिए पनि किसानले सहजै पाउन सकेका छैनन् । बारीमा मकैका लागि मल राख्नुपर्ने बेला भए पनि अझै किसानको हातमा पुग्न सकेको छैन । सरकारी अनुदानमा आएको मलसमेत निजी संस्थालाई बिक्री गरिँदा न किसानले समयमै मल पाउन सकेका छन्, न त सस्तोमै ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?