तीज संस्कृति : हरायो लिन जाने चलन, छोडियो लय

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins

म्याग्दी (दरबाङ) । भदौको महिना । खोला र खहरेहरुमा उर्लेको भेललाई छिचोल्दै तीजमा छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराएको छ ।
हातहातमा मोवाइल, इण्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदी बहिनीहरुलाई लिन अब घरमै जान नपरेपछि पुरुषहरुलाई पनि हाइसन्चो त भएको छ तर तीजको लय भने विर्सन थालिएको छ ।

ससाना छोराछोरी पिठ्युमा बोक्दै र हातमा डो-याउँदै लिन आएको भाइको पछिपछि पैदल हिडेर साँझपख मात्रै माइतीको आँगनीमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णनै गर्न नसकिने बेनी नगरपालिका २ की ६९ वर्षिया यामकुमारी शर्माले बताउनुभयो ।

तीज आयो जाउन बाबु दिदी लिनलाई ।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
हुन्छ अमा दिदी लिन जान्छु जान त ।
कोसेली पो के लानी हो पर्छ लान त ।।

“पहिला–पहिला गाउँमा सडक पुगेको थिएन, चेलीबेटी लिन माईती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासु ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो” शर्माले भन्नुभयो “ हिजोआज भने गाउँ–गाउँमा सवारी साधन पुगेका छन्,हातहातमा मोवाइल छ,न दाजुभाइलाई दिदी बहिनी लिन जाने झन्झट र न दिदी बहिनीलाई कोशेलीपात्रको व्यवस्था गर्न गाह्रो,पैसा भए बजारमा सबै चिज पाइन्छ,आनन्दै ।”

“गाउँ गाउँमा गाडी र हात हातमा मोबाइल पुगेपछि तीजमा लिन जाने र माइतीसँग भेट हुन तीज कुर्नै पर्ने चलन हरायो, यो त राम्रै हो” मालिका गाउँपालिका ४ का डेकबहादुर घर्तीले भन्नुभयो “तर,तीजको रौनक पनि हराउँदै जाँदा पुराना दिनहरु केबल सम्झना मात्रै बन्न थालेका छन्,हिजोआज तीजको लय हराउँदै गएको छ,विकृति फस्टाउँदै गएको छ ।”

ज्यामरुककोटकी ८९ वर्षिया खिरकुमारी कार्कीका अनुसार हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायामको धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिँनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, गावा जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो ।

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ । तर हिजोआज भने माछा, मासु, खिर लगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन थियो । राती अबेरसम्म दर खाने र भोलीपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले भने हरायो । तर अहिले एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसहरुमा दर खाइन्छ,भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसो गर्दा तीजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिदै गएको छ भने सामाजिक सद्भाव पनि विग्रदै गएको छ ।

अहिले दरखाने निहुँमा ठूला –ठूला पार्टी, प्यालेस, होटलमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिष्पर्धात्मक रुपमा जानेको पनि लहर छ । बेनीबजारका विभिन्न होटल, पार्टी प्यालेसमा दरखान जाने महिलाहरूको आकर्षण बढ्दै जादा बिकृती पनि निम्तिएको छ ।
“हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसरका रुपमा लिइन्छ तर हिजोआज तीज गीतका नाममा विकृती पनि केही देखिएको हुदा ती विकृति बिसंगतीलाई हटाई महिलाका वेदना पोख्ने पर्वको रुपमा अगाडि बढाइनु पर्छ” म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख रामजी सुवेदीले बताउनुभयो ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् ।

पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेपनि १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ ।

यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।

तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको छ ।

घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ । समाजलाई सही बाटोमा हिँडाउने गीतहरू भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन ।

मंगला गाउँपालिका ५ की ७१ वर्षिया पूर्णकुमारी पौडेललाई उहिलेको तीजबारे सोध्दा गुनगुनाउनुभयो,

“घ्यू भरेर राखे आमा फूल भरेको टिनमा
बाँचे आमा भेटौँला वर्ष दिनमा”

उहाँले भन्नुभयो, “अहिलेका गीतमा मलाई खासै रुचि छैन । यी तीजका गीतजस्ता पनि छैनन् ।”

अहिलेका गीतहरू सुन्दा दिक्क मान्नुहुने उहाँ आफूहरूले पहिला–पहिला गाएका गीतहरु सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताउनुभयो ।

अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको बेनी नगरपालिका ९ की तारा सुवेदीले बताउनुभयो । “समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ ।” उहाँले भन्नुभयो, “पहिले–पहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टी प्यालेसमा गए दर खाए आए । गीतहरूमा समेत विकृति भित्रन थालेको छ। ”

गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुख दुःखका कुरा र सासुले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमान्ले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?