✍️ केशव चौलागाई
संस्कार शब्दको व्युत्पत्ति संस्कृतिको ‘सम’ एवम् ‘कृञ’ धातुमा ‘घञ’ प्रत्यय लागेर भएको हो । ऋग्वेदमा संस्कारको सट्टा संस्कृत शब्दको प्रयोग पाइन्छ । जसको अर्थ शुद्ध पारिएको, परिष्कार गरिएको, सफा बनाइएको भन्ने हुन्छ । बोलीव्यवहार, पहिरन, संस्कृति, धर्म, श्रम, उत्पादन, वैज्ञानिक आविष्कार, आर्थिक क्रियाकलाप, शिष्टाचार आदिमानवीय सभ्यताका परिचायक हुन् । यस्ता विनयी, ज्ञानमय कुराहरू मानवले आफ्ना नजिकका मानिसबाट सिक्दछ । संस्कारले मानिस र पशुबीचको फरक देखाउँछ ।
प्राचीन कालदेखि नै मानव समुदायले मान्दै आएको असल चालचलन नै संस्कार हो । आज्ञाकारी भएर सकारात्मक बाटोमा अगाडि बढ्नु नै असल संस्कार हो । असल संस्कारले मानिसलाई सत् कर्मको बाटो देखाउँछ । आमाको कोखबाट जन्मेदेखि नै हामीलाई धार्मिक संस्कारले छोड्दैन । धार्मिक आचरणले मानिसलाई अशुभ एवं कुलक्षणबाट बचाउँछ । भन्ने गरिन्छ, दिन कस्तो हुन्छ भनेर बिहानीले देखाउँछ । दिन मंगलमय, जीवन ऊर्जामय, स्वास्थ्य अनुकूलमय बनाउन बिहानीलाई जप, तप, साधना, असल चिन्तनयुक्त बनाउनुपर्छ ।
बाल्यकालदेखि नै असल संस्कार विजारोपण भएको मानिस नै असल बन्दछ । असल संस्कारले व्यक्ति परिवार, समाज, समुदाय हुँदै राष्ट्रको उत्थान गर्न सक्दछ । हामीले असल कर्म गर्नका लागि मन, वचन र कर्मैदेखि लाग्नुपर्दछ । मातापिता र गुरुको वचन शिरोधार्य गर्नु पर्दछ ।
धार्मिक संस्कारकै कारण कोसँग कस्तो व्यवहार गर्ने ? कस्तो सम्बन्ध राख्ने ? भन्ने विषयमा मनिसले विचार र विवेक पुर्याउँछ । यही संस्कारले व्यक्तिलाई योग्य बनाउँछ । मानिस धर्ममा बाँधिएको छ, संस्कारले सिंंगारिएको छ, सामाजिक मान्यताले कसिएको छ । व्यवहार र आचरण सर्वोत्तम भएमा संस्कार अब्बल दर्जाको बन्दछ । गुण, कर्म, स्वभावको जननी संस्कार भएकाले मानवले संस्कार छोड्नु हुँदैन ।
हाम्रो जीवनलाई ज्ञान, ध्यान, चिन्तन र असलकर्मले महान् बनाउन सकिन्छ । सबैसँग मिठो बोल्ने मृदुभाषी मानिसलाई नै भाग्यले साथ दिन्छ । कर्मले नै भाग्य बनाउने हो । जस्तो कर्म गर्यो भाग्य त्यस्तै बन्दछ । बस्ने मानिसको भाग्य बस्दछ, उठ्ने मानिसको भाग्य उठ्छ, सुत्ने मानिसको भाग्य पनि सुत्छ, अध्ययन अनुसन्धान गर्ने मानिसको भाग्य प्रगतिपथमा अगाडि बढ्छ । मानिसले भाग्य कस्तो बनाउने भन्ने कुरा संस्कारले निधो गर्दछ । संस्कार असल भयो भने भाग्यले पनि बाटो तताउँछ । बिहान सबेरै उठ्ने, जप, तप, ध्यानमा लाग्ने मानिस धन, धर्म, ज्ञान, बुद्धि र आचरणले सम्पन्न बन्दछ ।
बाल्यकालदेखि नै असल संस्कार विजारोपण भएको मानिस नै असल बन्दछ । असल संस्कारले व्यक्ति परिवार, समाज, समुदाय हुँदै राष्ट्रको उत्थान गर्न सक्दछ । हामीले असल कर्म गर्नका लागि मन, वचन र कर्मैदेखि लाग्नुपर्दछ । मातापिता र गुरुको वचन शिरोधार्य गर्नुपर्दछ । हाम्रा ज्ञानेन्द्रिय र कर्मेन्द्रियलाई उचित तरिकाले प्रयोग गर्न सक्नुपर्दछ । यही मुखले मीठो बोल्दा हरेक मानिस खुशी हुन्छन् । कस्तो असल मानिस भनेर सबैले प्रशंसा गर्न पुग्दछन् भने त्यही मुखले गाली गर्दा उत्तिखेरै मारामारको अवस्था पनि आउन सक्छ । खराब मानिसको दर्जा पाउन सकिन्छ त्यसैले हाम्रा सबै अंगहरूको सही प्रयोगले हामीलाई संस्कारी बनाउँछ ।
मातृदेवो भवः आमालाई देवता समान मान, पितृदेवो भवः बाबालाई देवता समान मान, गुरुदेवो भवः गुरुलाई देवता समान मान, अतिथि देवो भवः पाहुनालाई देवता समान मान हाम्रा संस्कार हुन् । विश्बन्धुत्वको भावना हाम्रो पहिचान हो । ऐँचोपैँचो, अर्मपर्म एक आपसमा दुःखको बेला सहजै जीविकोपार्जन गर्न अपनाइएका संस्कार हुन् । हामीले असल कुराको मात्र बानी लिनुपर्दछ । खराब कुराको बानीले हामीलाई खराब बनाउँछ । जस्तो मानिसको संगत ग¥यो त्यस्तै बनिन्छ । जस्तो रोप्यो त्यस्तै फल्छ । जस्तो सामाजिक संस्कारमा हुर्कियो त्यस्तै आचरणको विकास हुन्छ । जुवाडेको साथी जुवाडे, विद्वान्को साथी विद्वान् । त्यसैले हामीले घरमा आफ्ना बाबुनानीलाई असल संस्कारको विकास गराउनु पर्दछ ।
हाम्रो संस्कृति विश्वकै सर्वप्राचीन, सर्वप्रिय संस्कृति हो । संस्कृतिबाटै मानिसले संसारिक जीवनको संस्कार सिक्ने गर्दछ । संसारिक जीवनजगत्भन्दा पर गएर आध्यत्मिक ज्ञानले मानिसलाई सत्मार्गमा डोहोर्याउँछ । जीवन जिउने कला भएमा मानिसको जीवन सुखमय बन्दछ । जिउनका लागि भोजन अनिवार्य छ । सात्विक भोजनले देवता, राजसीले मानव र तामासीले दानव प्रवृत्तिको स्वभाव सिर्जना गर्दछ ।
संस्कारले हामीलाई सही मार्गदर्शन गर्दछ । संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित एवं मर्यादित हुन्छन् । सादगी जीवन, निष्पक्ष न्याय, चुस्त जिम्मेवारी, पापको डर, धर्मको भर, उदार सेवा, विपन्नलाई साथ, निर्धालाई मद्दत, वृद्धलाई आदर हाम्रा मानक संस्कार हुन् ।
फलफूल लगायतका खाद्यपदार्थ जसले मानसिक शक्ति दिन्छ, शारीरिक उत्तेजना ल्याउँदैन त्यस्तो भोजनलाई सात्विक भोजन भनिन्छ । विभिन्न किसिमका मसला, नुन, तेल आदि मिलाएर स्वादिष्ट बनाइएको भोजनलाई राजसी भोजन भनिन्छ भने माछामासुलगायत अखाद्य पदार्थ जसले शारीरिक र मानसिक उत्तेजना दिन्छन् त्यस्ता खानालाई तामासी खाद्यपदार्थ भनिन्छ । खानाले मनमा, स्नानले शरीरमा, चिन्तनले संस्कारमा, सत्सङले विचारमा शुद्धता ल्याउँछ ।
छान्दोग्यउपनिषद् एवं पतञ्जली योगसूत्रमा भनिएको छ, आहारशुद्धौः सत्वशुद्धिः, सत्वशुद्धौ धुवा स्मृतिः । अर्थात् आहार शुद्ध भएमा जीवन शुद्ध हुन्छ, जीवन शुद्धि भएमा स्मरणशक्ति बलियो रहन्छ । अहिले आहारविहारकै कारणले धेरै मानिसहरू रोगको सिकार भई मृत्युको मुखमा परेकोले पनि आहारविहारमा विशेष ध्यान दिनु जरुरी छ ।
सभ्यताको विकास सँगसँगै मानिसले नयाँ संस्कारको सिको गर्दै गएका छन् । जन्मदिन मनाउने, विवाह दिवस मनाउने परम्परा आजभोलि संस्कारको रूपमा विकास भइसकेको छ । यस्ता संस्कार मनाउँदा हिन्दू परम्परा अनुसार नै मनाउनु सार्थक एवं दिगो हुन्छ । जन्मदिनमा बत्ती निभाउने युरेपियन परम्परा नेपाली समाजमा अशुभ मानिन्छ । त्यसैगरी अष्टचिरञ्जीवीको पूजा गरी रातभरि बत्ती बाल्नु नै उपयुक्त हुन्छ ।
राष्ट्रिय सभ्यता र शासकीय मर्यादा संस्कारका उपज हुन् । संस्कारमा अगाडि बढेन भने कुसंस्कारको व्युत्पन्न हुन्छ । सामाजिक, राजनीतिक, सांस्कृतिक विकृतिले गर्दा कुसंस्कारको जन्म हुन्छ अनि त्यसैको खातिर समाजमा भष्ट्राचार, अन्याय, अत्याचार, घुसखोरी जस्ता गलत क्रियाकलापको जन्म हुने गर्दछ । समाज धर्म र ईश्वरको आस्थामा बाँचेको हुन्छ । संस्कृति र संस्कारको मूल्य थोरै तलमाथि हुँदा सिङ्गो देशले विपरीत परिणाम भोग्नुपर्ने हुनसक्छ । संस्कृति वर्ष दिनको समयचक्रसँगै देखापर्दछ । नयाँ वर्ष, अक्षय तृतीया, वैशाख पूर्णिमा, निर्जला एकादशी, हरिशयनी एकादशी, गुरुपूर्णिमा, नागपञ्चमी, श्रीकृष्णजन्माष्टमी, हरितालिका तिज, ऋषितर्पणी, कुशेऔँँसी, सोह्रश्राद्ध, घटस्थापना, विजया दशमी, शरद पूर्णिमा, तिहार, बाला चतुर्दशी, ल्होसार, माघे संक्रान्ति, माघेऔँसी, वसन्त पञ्चमी, शिवरात्रि, रामनवमी आदि हाम्रा वार्षिक पर्व हुन् ।
साथसाथै सोह्रसंस्कार, श्रीमद्भागवत् महापुराण, गरुडपुराण, शिवपुराण, गणेशपुराण, देवीभागवत् लगाई घर र मनलाई शान्ति पारिने संस्कार हुन् । मेलापर्व मनाउँदा, घाँस दाउरा गर्दा गाइने गीतले लोकसंस्कारलाई चिनाउँछन् । आफन्तको प्रगति हुँदा, विदेशबाट मनग्य धनसम्पत्ति लिएर आउँदा, आफूले ताकेका काम पूरा हुँदा रमाइलो गर्ने प्रचलनले पनि अहिले संस्कारको रूप लिएको पाइन्छ । संस्कृत वाङ्मयमा सर्वे भवन्तु सुखिनाः सबै सुखी रहून, सर्वे सन्तु निरामयाः सबै निरोगी रहून, सर्वे भद्राणी पश्यन्तुः सबै सज्जन होऊन्, मा कश्चित दुःखभाग्यवेतः कोही पनि दुःखी नहूँन जस्ता सर्वकल्याणकारी विचार पाइन्छन् । कठोपनिषद्मा एउटा मन्त्र पाइन्छ, सहनाभवतुः सँगै मिलेर बसौँ, सहन नौ थुनक्तुः सबै मिलेर खाऔँ, सहवीर्यं करवाहैः सँगै मिलेर ठूला पराक्रमी काम गरौँ जस्ता लोककल्याणकारी विचार रहेका छन् । परोपकार पुण्यायः पापाय परपीडनम्ः अरूको उपकार गर्नु पुण्यकर्म हो भने अरूलाई पीडा दिनु पापकर्म हो । यस्ता लोककल्णकारी संस्कारको अनुशरण गरी हामी पनि हाम्रो जीवनलाई धन्य बनाउन सक्छौँ ।
संस्कारले हामीलाई सही मार्गदर्शन गर्दछ । संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित एवं मर्यादित हुन्छन् । सादगी जीवन, निष्पक्ष न्याय, चुस्त जिम्मेवारी, पापको डर, धर्मको भर, उदार सेवा, विपन्नलाई साथ, निर्धालाई मद्धत, वृद्धलाई आदर हाम्रा मानक संस्कार हुन् । कूलपूजा गर्नु, देवप्रतिमा स्थापना गरी मन्दिर बनाउनु, पाटीपौवा, बाटो, इनार, विद्यालय, पुस्तकालय, सभाहल, सामाजिक भवन, वाचनालय बनाउनु असल संस्कृति हो । हामीले असल कर्म गर्यौं भने हाम्रा सन्ततिले पनि त्यही संस्कार सिक्दछन् । त्यसैले पछिल्लो पुस्तालाई मार्गदर्शन गर्न पनि असल संस्कारको बाटोमा हिँड्नु जरुरी छ । यो नै हाम्रो संस्कृतिको मौलिक पहिचान हो ।
(चौलागाई रिलायन्स पब्लिक स्कुल कपनमा नेपाली विषय अध्यापनरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच