गैह्रीगाउँ सामूहिक हत्या प्रकरण :

कुटपिट गरेको रिसइबीमा हत्या

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चारजनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी अभियुक्त सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ का भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुमा उनले फर्निचरमा पसेर आफूले चारजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ‘तपाईंहरू अहिले पनि कपडामा लागेका रगतका छिटाहरू देख्न सक्नुहुन्छ’, एसएसपी राठोरले भन्नुभयो । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

भण्डारीले दिदी भिनाजुको घरबाट विशाललाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताउनुभयो । भण्डारीले सःमिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको खुलेको छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले जानकारी दिनुभयो । घटनापछि उनी काँडाघारी वीरेन्द्रचोकमा रहेको दिदी भिनाजुको निवासमा सुत्न गएका थिए । आइतबार बिहान भने प्रहरीले आफूलाई खोज्नसक्ने भन्दै सिन्धुपाल्चोक जान लागेका थिए । सिन्धुपाल्चोकमा उनले ८ कक्षासम्म र काठमाडौंमा १२ कक्षासम्म अध्ययन गरेको प्रहरीले जनाएको छ ।

गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुग्नुभएका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो ।
तीनकुनेमा खुकरी प्रहारबाट चारजनाको हत्याको घटनापछि भण्डारी भाग्दै काँडाघारी पुगेका थिए ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको हो ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उहाँकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका विशाल राई रहनुभएको छ । उहाँहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको पाइएको थियो ।

हत्या गरिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक सुमन सिंह राठौरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?