म्याग्दीमा नेपाल जेसीजको क्षेत्रीय सम्मेलन

म्याग्दी चिनाउने र पर्यटक बढाउने माध्यम

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । वर्षा सकिएर शारदीय दिन सुरु भएका छन् । देशमा व्याप्त आर्थिक मन्दी र केही दिन अघिसम्मको बाढी तथा पहिरोका कारण जिल्लाका पर्यटकीय स्थलहरु सुनसान जस्तै छन् । बजारमा व्यापार व्यवसाय पनि राम्रोसँग लयमा फर्किसकेको छन् । होटल तथा लजहरु रित्ता रित्ता देखिन्छन् । तीज सकिएको छ र दशैं तिहार जस्ता ठूला चाडहरु संघारमै छन् ।

म्याग्दी जेसीजको आथित्यतामा यही असोज ३,४ र ५ गते सदरमुकाम बेनीबजारमा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनलाई जिल्लावासीहरुले पर्खिरहेका छन् ।

आयोजक म्याग्दी जेसीजले नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको छ । सम्मेलनमा जेसीजका ४१ शाखाबाट छ सय बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभएको छ ।

म्याग्दी जेसीज जिल्लाको खेलकुद,शिक्षा,पर्यटनमा मात्रै होइन यहाँका प्राकृतिक सम्पदा र वाणिज्य क्षेत्रमा समेत जोडिएको एक सशक्त संस्था हो ।
जिल्लाको समग्र विकासमा विगतका २२ वर्षमा म्याग्दी जेसीजले महत्वपूर्ण भूमिका निर्वाहा गरेको कुरा जिल्लावासी कसैले पनि नकार्न सक्दैनन् । खेलकुदको क्षेत्रमा म्याग्दी जेसीजले पु¥याएको योगदानको ऐना जेसीज कप हो भने भलिबलकी राष्ट्रिय क्याप्टेन अरुणा शाही लगाएत अन्य विधाका खेलाडीहरु म्याग्दी जेसीजको प्रतिविम्ब हुन भन्दा कुनै अत्युक्ति हुँदैन ।

म्याग्दी जेसीज स्थापनाको २२ औं वर्ष पुरा भएको सुखद अवसरमा आयोजना हुन लागेको नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनले म्याग्दी जेसीजको गर्बिलो इतिहासलाई जीवन्त राख्दै म्याग्दीको आर्थिक क्षेत्रलाई समेत टेवा पुर्याउने विश्वास लिइएको छ ।

व्यवस्थापकीय हिसाबले जिल्लाका अन्य संघसंस्था भन्दा फरक पहिचान बनाएको म्याग्दी जेसीजले यस पटकको क्षेत्रीय सम्मेलनमा पनि अत्यन्तै सानदार ढङ्गले व्यवस्थापनको प्रवन्ध मिलाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने उक्त सम्मेलनमा सहभागि जेसीजका शाखा, प्रतिनिधि र अतिथीहरुलाई शालीग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकीको शीला, म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजार जता मायाँ उतै छ नजर गीत लेखिएको रुमाल उपहार दिइने व्यवस्था म्याग्दी जेसीजले गरेको छ ।

सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष श्रेष्ठले सम्मेलनमा आउने प्रतिनिधिलाई विश्वकै एक मात्र नदी कालिगण्डकीमा मात्रै पाइने दुर्लभ शालीग्राम उपहार दिइने बताउनुभयो ।

“प्रतिनिधिलाई स्वागतदेखि विदाईसम्म भब्य बनाउँछौ,म्याग्दीमै उत्पादन हुने अन्य साम्रागीको प्रचार तथा उपहार समेत दिन्छौ” निर्देशक श्रेष्ठले भन्नुभयो । उहाँले शालीग्रामका साथमासम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार लगायतको सम्पूर्ण तयारी पूरा भएको शाखा अध्यक्ष सुमन बानियाँले बताउनुभयो ।

सम्मेलनलाई अविष्मरणीय बनाउन आर्थिक संकलन, प्रचारप्रसार, कार्यक्रमस्थल ब्यवस्थापन, होटल ब्यवस्थापन, बजार सजावट, मायाको चिनो लगाएत सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा भएको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्षेत्र ‘ख’ अन्तरगतका ४१ शाखाका करिब ६ सय भन्दा बढी सहभागी आउने अध्यक्ष बानियाँको भनाई छ ।
म्याग्दी जेसिज स्थापना भएको २५ बर्ष पूरा गरेको अवसरमा आयोजित सम्मेलन जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग पनि जोडिएको छ । सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च हुने जनाइएको छ । सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।

कार्यक्रममा सम्मेलनका सभापति एवम् नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगातातोपानी लगायत क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको म्याग्दी जेसिजले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?