दार्चुलाबाट देउवा र प्रचण्डको एउटै स्वर : कालापानी र लिपुलेकलाई नक्सामा ओलीले मात्रै हालेका होइनन्

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 8 mins

बैतडी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दार्चुला पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिनुभएको छ । गोकुलेश्वरमा सत्तारूढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई बुधबार सम्बोधन गर्दै देउवा र प्रचण्ड पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका ओलीविरुद्ध खनिुभएको हो ।

देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो । ‘कांग्रेस, माओवादी केन्द्र लगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो । अहिले ओलीले अरूले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दै छन्,’ उहाँले भन्नुभयो । केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत उहाँको थियो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ । मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ,’ देउवाले भन्नुभयो । उहाँले केही महिनाअघि दार्चुलामा नेपाल-भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने पनि बताउनुभयो । ‘दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ । दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ,’ उहाँले भन्नुभयो ।

ओलीलाई प्रधानमन्त्री बनाएको मैले नै हो : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय अतिक्रमणमा रहेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अत्यधिक बहुमतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको बताउनुभएको छ । नेकपाका अध्यक्ष रहनुभएका दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले तत्कालीन प्रधानमन्त्री ओलीलाई बाध्य पारेको बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्ने नेकपाको निर्णय मान्न तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बाध्य पारिएको तत्कालीन नेकपाका अध्यक्ष दाहालले बताउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिले दार्चुलाको खलंगामा आयोजित चुनावी सभामा आफ्नो नेतृत्वमा आगामी सरकार बन्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गर्नुभएको थियो । उक्त अभिव्यक्तितर्फ इंगित गर्दै दाहालले वास्तविकता अर्कै रहेको दाबी गर्नुभयो ।

नक्साले संसद्बाट वैधानिकता पाउनका लागि कांग्रेस र मधेश केन्द्रित दलहरूको भूमिका रहेको दाहालको भनाइ थियो । सोही चुनावीसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेको समेत ठोकुवा गर्नुभयो ।

एमालेले मात्र देश चलाउने हैसियत राख्छ : ओली
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गर्नुभएको छ । बुधबार झापामा आयोजित चुनावी भेलामा उनले अन्य पार्टीसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको दाबी गर्नुभयो । ‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, तर अरू दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ ओलीले भन्नुभयो ।

उहाँले जनतालाई अधिकार सम्पन्न बनाउने गरी एमाले अघि बढेको बताउनुभयो । ‘हामीले १७ हजार मानिस क्रान्तिको सपना देखाएर उक्साएर, भड्काएर मारेको देख्यौं,’ उहाँले भन्नुभयो, ‘ती शहीदका परिवार आज के गर्दै छन् ? घाइतेहरू के गर्दै छन् ? उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो हेर्नुपर्दैन । क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिने दुई दुईपटक प्रधानमन्त्री बने । अहिले पनि गठबन्धनको सरकारमा छन् । तर, एमालेले मात्र द्वन्द्वका पीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ ।’

ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गर्नुभयो । उहाँले माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको आरोप गर्दै एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने बताउनुभयो । ओलीले रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, उम्मेदवार दिएको भन्दै घण्टी बजाएर, लौरो टेकेर आउने स्वतन्त्रबाट देश नचल्ने दाबी गर्नुभयोे । उहाँले देश विकास गर्न सुदृढ पार्टी आवश्यक पर्ने बताउनुभयो । उहाँले गठबन्धन सरकारले जे पनि गर्न सक्ने भन्दै चनाखो भएर बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?