बक्सिङ र क्रिकेट खेलाडी पुरस्कृत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौंं । थाइल्याण्डको बैंककमा भएको एएसबिसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । चार खेलाडी, समान एक-एक मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकलाई जम्मा १६ लाख ८० हजार रुपैयाँ प्रदान गरियो ।

उक्त प्रतियोगितामा सुस्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जित्नुभएको थियो । सुस्माले ६ लाख पाउनुभयो भने बाँकीले जनही तीन लाख नगद पुरस्कार प्राप्त गर्नुभयो । मुख्य प्रशिक्षक दीपक महर्जनले एक लाख आठ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार रुपैयाँ पाउनुभयो ।

त्यस्तै, युएईमा भएको आइसिसी यू-१९ पुरुष सिडब्लुसी एसिया क्वालिफायरको उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, समान एक–एक मुख्य प्रशिक्षक, टिम व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख नगद पुरस्कार दिइयो ।

खेलाडीमा देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा रहनुभएको छ । सबैले जनही तीन लाख नगद पुरस्कार हात पार्नुभयो । मुख्य प्रशिक्षक जगत्बहादुर टमाटाले दुई लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान एक-एक लाख रुपैयाँ प्रदान गरियो ।

उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *