अख्तियारद्वारा विद्यालयका पूर्वअध्यक्ष र अमिनविरुद्ध भष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार एक विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष र एक अमिनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उदयपुरको श्री आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उदयपुरगढी गाउँपालिका–७ मा रहेको विद्यालयको रकम हिनामिना गरेको अभियोगमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

विद्यालयको आयस्रोत वृद्धिका लागि लगानी गर्ने भनी तत्कालीन प्रधानाध्यापकबाट भरपाईसमेत गरी रकम हिनामिना गरेको आयोगमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले आफ्नै अध्यक्षतामा व्यवस्थापन समितिको बैठक राखी निर्णय गराएर विद्यालयको खातामा रहेको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको प्रवक्ता दाहाललले बताउनुभयो । हिनामिना भएको रकम असुलउपर र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

नापी कार्यालय लहानमा कार्यरत अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
यस्तै अख्तियारले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अख्तियारका अनुसार यादवले जग्गाधनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । १० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय, धनुषाले २०७१ असोज ७ गते मिथिलाबिहारी नगरपालिका–९ मा रहेको रामजानकी प्राथमिक विद्यालयमा निलमकुमारी यादवलाई प्रावि दरबन्दीमा पदस्थापन गरेको थियो । यादवले भानु उच्च माध्यमिक विद्यालय, किसानपुरको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा रामजानकी प्राथमिक विद्यालयमा पदस्थापन भई पदको ओहदा, अधिकार, हैसियत वा सुविधाको दुरुपयोग गरेको आयोगको ठहर छ । आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको माग गरेको छ । यस्तै, तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलले यादवसँग मिलेमतोमा नक्कली नियुक्ति, नक्कली विस्थापन तथा पदस्थापनसम्बन्धी कागजात तयार गरेको आयोगको ठहर छ ।

उनलाई पनि कैद र जरिवाना दुवै सजायको माग दाबीसहित आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?