सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छः सांसद घर्तीमगर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा नेकपा ९माओवादी०ले चलाएको सशस्त्र द्वन्द्वकालको एक उद्गमस्थल पनि हो, जहाँ माओवादी पार्टीका नेता कार्यकर्ता मात्रै सात सय ४२ सहिद भए । विसं २०५८ असार २७ गते भएको होलेरी आक्रमणमा सरकार र विद्रोही पक्षका गरी ३९ जना मारिएका थिए ।

लोकतान्त्रिक आन्दोलनको सफलतापछिका राजनीतिक गतिविधि र निर्वाचनमा माओवादीको प्रभाव नरहने कुरै भएन । यही जिल्लाका जनताबाट निर्वाचित भएका प्रतिनिधि मुलुकको सभामुख, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्री भइसकेका छन् । अरु जिल्लाको जस्तै रोल्पाको विकास पनि क्रमशः हुँदैछ तर जति हुनुपर्ने हो त्यति नभएको देखिन्छ ।

रोल्पालीका धेरै सपना पूरा हुन बाँकी नै छ, ती सपना माओवादीले मात्रै पूरा गर्न सक्दैन । यहाँको विकासका लागि अरु राजनीतिक दलको भूमिका पनि आवश्यक छ भनेर विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएकी ईश्वरी घर्तीमगर अहिले नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

नुवागाउँको अरनिको माविमा पढ्दै गर्दा विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेकी सांसद घर्तीमगर पछि अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष हुनुभयो । केही समय पत्रकारितामा पनि आफूलाई सक्रिय बनाउनुभएकी उहाँ प्रेस चौतारी नेपालको पनि जिल्ला अध्यक्ष हुनुभयो । भूगोल र पार्टीको राजनीतिक भूमिकाबाट पहिलोपटक सिंहदरबारको संसदीय भूमिकामा आउँदा प्रारम्भमा उहाँको समय संसदीय अभ्यास, यसका नियमावली र आचारसंहिता आदिबारे सिकाइमै बित्यो । सरकार निर्माण, राष्ट्रपति–उपराष्ट्रपतिका निर्वाचन आदि घटनाक्रमले पनि विधि निर्माणको संसदीय भूमिकाको भेउ पाउन सांसद घर्तीमगरलाई केही समय लाग्यो ।

पार्टीको राजनीतिमा जस्तो एकोहोरो जिम्मेवारी पूरा गरेर पनि सांसदले सुख पाउँदैन । सांसद घर्तीमगरलाई अहिले यो कुरा स्पष्ट भइसक्यो कि सांसद भनेको पार्टीप्रति मात्रै उत्तरदायी हुने पद होइन, देश र जनताप्रति समर्पित भएर कानुन बनाउने विधायक हो । हुन त जनताले सानातिना (नागरिकता, राहदानी) देखि ठूला आयोजनासम्ममा सांसदलाई सम्झने गर्दछन् । जनताले आफ्ना कुरा सदनमा पुगोस् भन्ने चाहन्छन् । शून्य समय, आकस्मिक समय र विशेष समयमा समय पाएर हरेक विषयलाई न्याय गरेर बोल्न सांसदलाई पनि सहज छैन ।

जनताका आँखामा जुन सांसदले बढी बजेट र विकास ल्याउन सक्यो, त्यही ठूलो नेता कहलिन्छन् । ईश्वरीले हालसम्म धेरै पटक सदनमा उठाएको विषय–सहिदमार्गको निर्माण र स्तरोन्ततिबारे सरकारले पर्याप्त ध्यान दिएको छैन । द्वन्द्वकालमा लाइफलाइनका रुपमा लिइने २२० किलोमिटरको यो सडक दाङ–रोल्पा हुँदै पूर्वी रुकुमको हुकाममैकोटसम्म पुग्छ । घोराही–होलेरी सडकको अवस्था पनि बिजोग छ ।

‘दयनीय अवस्थामा रहेको यो सडक बनाउन कनिका छरेजस्तो बजेट हालेर पुग्दैन ।’ सांसद घर्तीमगर प्रश्न गर्नुहुन्छ, ‘बजेट र योजना पार्न सत्ता पक्षका सांसद हुनुपर्ने तथा मन्त्री र कर्मचारीलाई ढोग्न जानुपर्ने अवस्थाबाट देश बन्छ रु अहिले पनि रोल्पालीका सपना र चाहना पूरा गर्ने खालका योजना किन परेका छैनन् ?’ रोल्पालीका शिक्षा, कृष र पर्यटन आदिका सपना पूरा गर्दै उनीहरुका जनजीवनमा परिवर्तन गराउन सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिकी सदस्य घर्तीमगर सरकारले विधेयक बनाउँदा सम्बन्धित संसदीय समितिका निर्देशनको पालना र सरोकार भएका पक्षसँग पर्याप्त छलफल नगरेको टिप्पणी गर्नुहुन्छ । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा अहिले भइरहेको शिक्षक–कर्मचारीको आन्दोलन त्यसैको उपज रहेको उहाँको बुझाइ छ । उक्त विधेयकलाई जस्ताको तस्तै पारित नगर्ने स्पष्ट गर्दै सांसद घर्तीमगरले यसमा सबै दलका सांसदबीचको छलफल र सहमतिका आधारमा अघि बढ्ने गरी पहल भएको स्पष्ट गर्नुभयो । ‘सरकारले समितिका निर्देशन पालना गरिरहेको हुँदैन । विधेयक बनाउँदा पनि हामीसँग परामर्श हुन्न । औपचारिक निर्वाह गर्ने हिसाबले गरिने कामले जनता र सरोकारवालामा परिणाम दिन सकिन्न’, सांसद घर्तीमगरले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…