प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक

चिनियाँ राष्ट्रपति ‘सी’सँग भेटवार्ता हुने

फाइल तस्बिर

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारदेखि एकसाता चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता हुने भएको छ । तर, यो भेटवार्ता बेइजिङमा नभएर एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको सहर हाङ्जाओमा हुन लागेको हो । प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट हङकङ ट्रान्जिट हुँदै शनिबार बिहान १० बजे हाङ्जाओ उत्रिनुहुने छ । हाङ्जाओमा शनिबार चीनका राष्ट्रपति सीसँग प्रचण्डको लञ्च बैठक राखिएको छ भने दिउँसो दुई नेताबीच औपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ ।

चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सिधै चीन जाँदै हुनुहुन्छ । हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा मात्र हुनेछ ।
त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुहुने छ । बेइजिङमा उहाँले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको यसपटकको चीन भ्रमण अपेक्षाकृत छोटो हुने ठानिएको थियो । तर, भ्रमण एक हप्ता लामो हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नुहुने छ । चोङकिङ महानगरले कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उहाँले अवलोकन गर्नुहुनेछ । ३० सेप्टेम्बरमा उहाँ ल्हासाबाट काठमाडौं आइपुग्ने कार्यक्रमा छ । प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनुहुने छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण चिनियाँ समकक्षी ली छिनको निमन्त्रणामा हुन लागेको हो । संयुक्त राष्ट्रसंघको महासभा भाग लिन हाल अमेरिकाको न्युयोर्क पुग्नुभएका दाहाल त्यतैबाट चीन जानुहुने छ ।

नेपाल र चीनको सम्बन्ध सधैँ सुदृढ र स्थिर : चीन
यसैबीच चीनको विदेश मन्त्रालयले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सात दिने भ्रमणको औपचारिक घोषणा गरेको छ । बिहीबार चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको विषयमा जानकारी दिनुभएको हो । नेपालले पनि बिहीबार नै परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेको थियो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनको सुरुवातमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रचण्डको भ्रमणबारे जानकारी गराउनुभयो । ‘प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३ देखि ३० सेप्टेम्बरसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हाङझाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ’, प्रवक्ता निङले भन्नुभएको छ ।

त्यसपछि चिनियाँ सरकारी सञ्चार माध्यम सिसिटिभीका प्रतिनिधिले ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे थप जानकारी दिन, चीनले नेपालसँगको अहिलेको सम्बन्धलाई कसरी हेरिरहेको छ भन्नेबारे जानकारी दिन र प्रचण्डको यो भ्रमणबाट चीनले के हासिल गर्ने आशा राखेको छ ?,’ भनेर प्रश्न राखेका थिए । सिसिटिभीका प्रतिनिधिले राखेको जिज्ञासाको जवाफमा विदेश मन्त्रालयकी प्रवक्ता माओले थप स्पष्ट पार्नुभएको थियो । ‘प्रधानमन्त्री प्रचण्डले धेरैपटक चीन भ्रमण गरी नेपाल-चीन सम्बन्धको विकासमा महत्वपूर्ण योगदान गर्नुभएको छ । आगामी भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले उहाँसँग भेट गर्नुहुने छ । प्रधानमन्त्री ली छ्याङ र अध्यक्ष झाओ लेजीले क्रमशः उहाँसँग वार्ता र भेटघाट गर्ने कार्यक्रम छ’, उहाँले भन्नुभयो, ‘दुवै पक्षले परम्परागत मित्रतालाई प्रगाढ बनाउने, पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्नुहुने छ ।’

प्रवक्ता माओले चीन र नेपाल परम्परागत मित्र, छिमेकी र रणनीतिक साझेदार रहेको भन्दै ६८ वर्षअघि दुई देशबीच स्थापना भएको कूटनीतिक सम्बन्ध अन्तर्राष्ट्रिय वा क्षेत्रीय परिस्थिति जस्तोसुकै हुँदा पनि सधैँ सुदृढ र स्थिर रहेको बताउनुभयो । ‘हाम्रा दुई देशले आ-आफ्ना मूल हितका मुद्दाहरूमा एक-अर्कालाई समझदारी र समर्थन गरेका छन् । जसले यस सम्बन्धलाई विभिन्न आकारका देशहरूबीच समानता र पारस्परिक सहयोगको राम्रो उदाहरण बनाएको छ’, उहाँले भन्नुभयो, ‘हालैका वर्षहरूमा दुई देशले बारम्बार उच्चस्तरीय भ्रमण आदानप्रदान गरेका छन्, आर्थिक र सांस्कृतिक क्षेत्रमा सञ्चार र सहयोगलाई बढाएका छन् । साथै, अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा घनिष्ठ हिसाबले समन्वय र सहयोग कायम गरेका छन् ।’

उहाँले चीन नेपालसँग रणनीतिक साझेदारी र बिआरआईमा सहकार्य गर्न चाहेको थप स्पष्ट पार्नुभयो । ‘पारस्परिक विश्वासलाई गहिरो बनाउन, व्यावहारिक सहयोग विस्तार गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन नेपालसँग काम गर्न चीन सधैँ तयार छ’, चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?