चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश दिएको छ । राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश जारी गरेको हो ।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गर्नुभएको थियो । उहाँहरूले रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गर्नुभएको थियो ।

राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेको थियो । एक जुरी सदस्यले आफूहरूले सर्वोत्कृष्ट विधाका ‘प्रकाश’लाई सिफारिस गरेको तर बोर्ड नेतृत्वले नमानेको केहीदिन अघि सार्वजनिक गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?