स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : सञ्चारमन्त्री शर्मा

फाइल तस्बिर

रासस
Read Time = 4 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताउनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उहाँको भनाइ छ ।

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरुपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो भन्ने कुरालाई पत्रकारिता क्षेत्रबाट थप सशक्त र प्रभावकारी बनाउने र अगाडि बढाउने काममा यहाँहरुको पत्रकारिता अगाडि बढ्ने छ भन्नेमा विश्वस्त छु ।” पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्दै पत्रकार आचारसंहिता पालनाका निम्ति काउन्सिलले पत्रकारलाई उत्प्रेरित गरेको उहाँको भनाइ छ ।

बद्लिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुनःसंरचना बारेमा छलफल चलिरहेको बताउँदै काउन्सिललाई पत्रकारिता क्षेत्रको नियमन र स्वनियमनमा बढी केन्द्रित गर्नुपर्ने सरकारका प्रवक्ता शर्माको भनाइ छ । “लोकतन्त्रमा मिडियामाथिको नियन्त्रण कल्पनाभन्दा बाहिरको कुरा हो, अब गर्ने भनेको स्वनियमनको ढाँचामा नियमन नै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासलाई अगाडि बढाउने गरी मिडिया काउन्सिल ऐन बन्नुपर्छ भन्ने आमसञ्चार क्षेत्रका विज्ञहरुको सुझाव रहेको छ”, उहाँले भन्नुभयो ।

आम सञ्चार क्षेत्रको पुनःसरचनाका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुधार समिति गठन गरेर प्रतिवेदनसमेत प्राप्त गरिसकेको उहाँको भनाइ छ । उहाँको सबैको सल्लाह र सुझावका आधारमा सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पछिल्लो समयमा सबैभन्दा बढी विकास भएको क्षेत्र पत्रकारिता क्षेत्र भएको बताउँदै उहाँले समग्र पत्रकारिता क्षेत्रका चुनौतीका बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्रालयले साइबर सुरक्षा नीतिलगायत महत्वपूर्ण कानुनहरु पारित गरेको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै पत्रकारिता क्षेत्रले सबै क्षेत्रलाई खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई दुरुपयोग गर्नेभन्दा पनि जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन र ‘संहिता’ सार्वजनिक गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?