प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन भेटवार्ता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चीन पुग्नु भएको छ ।

एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेटवार्ता भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर उहाँ सिधै चीन जानुभएको हो । उहाँलाई हाङजाओ विमानस्थलमा चिनियाँ खेलकुद मन्त्री एवं १९औँ एशियाली खेलकुद प्रतियोगिताका प्रमुख गाओ झिदानले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री नाराणप्रकाश साउद र अन्य सदस्यहरु पनि हुनुहुन्छ ।

प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुहुने छ । उहाँहरु बीच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनुहुने छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुहुनेछ । सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनुहुनेछ । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्नुहुने कार्यक्रम छ ।

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहलले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची छ । यसैगरी उहाँले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुग्नुभएको छ ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कनुहुने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?