साझा सवाल, संंयुक्त मोर्चा र संयुक्त आन्दोलनको सन्दर्भ

लोकनारायण सुवेदी
Read Time = 15 mins

विश्व कम्युनिष्ट आन्दोलन र त्यसको एक अंग नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यो साझा सवाल, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको प्रश्न बारम्बार उठेको अहिले पनि बढी सघनताका साथ उठिरहेको प्रश्न हो । यसले जनताको वर्गीय र राजनीतिक आन्दोलनलाई सही दिशा, गति दिन आन्दोलनकारी खासगरी क्रान्तिकारी कम्युनिष्ट शक्तिहरू सदैव प्रयत्नशील रहिरहनुपर्दछ, त्यसका आधार पहिल्याउनुपर्दछ । त्यसको औचित्यता साबित गर्नु पर्दछ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन आउने गरेको छ ।

हुन पनि यो प्रश्न जनता र राष्ट्रका साझा समस्याको पहिचान र तिनको सही समाधानका लागि उठेको र उठ्ने प्रश्न हो र त्यसको सही उत्तरका लागि साझा समस्याको खोजी, त्यसको सही पहिचान र त्यसको सही निराकरणसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण र केन्द्रीय प्रश्न हो । आन्दोलनले सही दिशा र गति पाउँछ कि पाउँदैन भन्ने प्रश्न यही हो । वास्तवमा अरू जतिसुकै सामाजिक सांकृतिक रूपान्तरणका ठूल्ठूला कुरा गरे पनि यो मूलभूत सवालमा सही निष्कर्षमा नपुगी समस्याले सही निकास पाउँदैन नै । यो नेपाली जन आन्दोलन र त्यसमा पनि विशेषतः कम्युनिष्ट आन्दोलनका सन्दर्भमा प्रष्ट देखिँदै र प्रमाणित हुँदै आएको वस्तुगत कुरा हो ।

अरू देशका आन्दोलनका मूल्यबान र प्रेरणास्पद असल परम्परा अनुकरणीय हुन्छन् तर हामीले हाम्रै देशका असल परम्पराको अनुसरण गर्नु, सिक्नु र तिनलाई पुनर्जीवित गर्नु बढी उपयोगी र जीवन्त कुरा हुन्छ ।

समाजका विभिन्न अन्तरविरोधमध्येमा मूल अन्तरविरोध र त्यसको पनि मूल पक्षसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण प्रश्न हो । अनि यो संघर्षको नाममा जथाभावी संघर्ष चलाउने कुरा पनि होइन, संघर्ष सुसंगत, यसलाई परिचालन गर्ने नियमसंगत र समाजका अधिशासित (गभर्निङ ल अफ सोसाइटी) नियमानुरूप चल्ने एउटा संघर्षशील र अत्यन्तै प्रभावकारी हतियार पनि हो । यसले मूल अन्तर विरोध र सहायक अन्तरविरोधलाई केलाउन, छुट्याउन र मूल अन्तरबिरोधको पनि मूल पक्षका विरुद्ध सहायक अन्तरविरोधहरू कसरी सहयोगी हुन सक्तछन् तिनको खोजी गर्न र तिनको सहयोग जुटाउन सकिन्छ र जुटाउनु हरदम प्रयत्न गर्नुपर्दछ भन्ने कुरा बुझ्न र तदनुरूप चल्न मार्गदर्शन गर्ने महत्वपूर्ण कुरा नै हो ।

यस वास्तविकतालाई उपेक्षा गरेर आन्दोलन मूख्य कुरा हो अरू कुरा स्वतः त्यसले निर्धारण गर्दछ भन्ने किसिमले चल्दा आन्दोलनलाई सही दिशा र सही गति दिन पनि पटक्कै सकिँदैन । यो विश्व इतिहास र हाम्रै देशको इतिहासले पटकपटक सिद्ध गर्दै आएको यथार्थ हो । यस सन्दर्भ र परिप्रेक्षमा अरू देशका आन्दोलनका मूल्यवान, प्रेरणास्पद असल परम्परा अनुकरणीय हुन्छन् तर हामीले मूलतः हाम्रै देशका असल परम्पराको अनुसरण गर्नु, सिक्नु, तिनलाई पुनर्जीवित गर्नु बढी उपयोगी जीवन्त कुरा हुन्छ ।

त्यसले हाम्रा देशका सही र गलत परम्पराको भेद र असललाई अघि बढाउने र गलतलाई रोक्ने सही बाटो देखाउँदछ । अरू समाजका क्रान्तिकारी अनुभव, वर्गीय शोषण र सामाजिक उत्पीडनका समस्या हल गर्न महत्वपूर्ण तर सहायक र सहयोगी कुरामात्र हुन्छन् । ‘अक्कलविनाको नक्कल’ गरेर समस्या समाधान हुँदैन त्यसले ‘अक्कलगुममात्र बनाउँदछ’ भन्ने कुरा त हामीलाई हाम्रा पूर्खाहरूले घर, परिवार समाजमा जहिले पनि बेला मौकामा औंल्याउने गर्दै भन्दै आएका कुरा हुन् ।

हामीले ती कुराबाट सिक्ने प्रयत्न गरेका छौं या छैनौं त्यो बेग्लै भयो । कमरेड माओले ‘जनताबाट सिक र जनतलाई सिकाऊ’ अर्थात् ‘फ्रम द मासेस, टु द मासेस’ भन्नुको तात्पर्य पनि मूलतः यही हो । यस कुरालाई सबै अग्रगामी क्रान्तिकारी कम्युनिष्टले गम्भीर महŒवकासाथ लिनुपर्दछ । कमरेड पुष्पलालले नेपाली जनआन्दोलनको समीक्षा गर्नु यही सिक्ने सिकाउने प्रक्रियाकै एउटा उपज हो । जनताका समस्या–असन्तोष, आलोचना, विरोध, विद्रोह हुँदै आमूल परिबर्तनको निर्णायक चरणतर्फ क्रान्ति अगाडि बढ्छ । यो क्रान्तिको सर्वमान्य तर गम्भीर महत्वको नियम हो ।

हुटहुटी, भावना, आवेग, सवबेगजस्ता मनोगत कुरा सही ठाउँमा परेमा अवश्य तिनले सकारात्मक काम गर्न मद्दत पु¥याउने हुन्छ । तर ती सबै सहायक कुरामात्र हुन् । मूल कुरा त सही दृष्टिकोण, विचार, सिद्धान्त, नीति र कार्यक्रमको व्यावहारिक समग्रता हो । जसको अभावमा अँध्यारोमा छामछाम छुमछुम गरेर हिँड्नु जस्तैमात्र हुन्छ । जति होहल्ला गरेर दौडे पनि पुगिँदैन । करोडौं कडोर पैसा खर्च गरेर कोरा र जाली (फेक) राजनीति चलाउने र एक वा अर्को किसिमले यथास्थितिमै अल्मल्याइराख्ने बाटोतिर लाग्ने बेग्लै हो । त्यो वर्तमान र भविष्यका लागि समेत जनता र राष्ट्रको हित गर्ने बाटो होइन । वस्तुतः घातक बाटो हो ।

यी विश्वका, नेपालका पनि अनुभवसिद्ध र आमूल परिवर्तनका लागि उपयोगी कुरालाई हामीले आज अझ बढी सघन, गहिराईपूर्वक अध्ययन, अनुसन्धान, अबलम्बन गर्न अग्रसर हुनै पर्दछ । नेपाली जनतामा भर पर्ने, नेपाली जनतमाथि विश्वास गर्ने सही बाटो र उपायको अभावमा आन्दोलनले जनता र राष्ट्रका जीवन्त-ज्वलन्त समस्या हल गर्न सक्तैन । यो कटु यथार्थलाई त हामीले बितेका १७ वर्षयताका राजनीतिक गतिविधि, आर्थिक दुष्परिणाम, देश, जनताको नाजुकतर अवस्था, देशको स्वाधीनतालाई अझ तीव्र रूपमा खतरामा पर्दै गएको अवस्थाले प्रष्टसँग औंल्याइरहेको छ ।

आर्थिक विकासको गलत बाटो, गलत अर्थनीति, सुशासनको अभावले गर्दा आज देशको सार्वभौमिक एवं भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, जनतन्त्रिक अधिकार, निर्वाध नागरिक स्वतन्त्रता तथा जन जीविकका सबाल नै गम्भीर खतरामा परेका छन् ।

तर यो एकाएक अहिलेको पछिल्लो डेढ दशकमा बनेको स्थिति भने होइन । वास्तविकता, कटु यथार्थ के हो भने पहिलेदेखि नै देश, जनतालाई कमजोर पार्न नेपालबाट बढीभन्दा बढी नााफा निचोर्न विश्व पुँजीवादी शक्तिले जुन बित्तीय पुँजीको तीव्र नाफाखोरी मानव र प्रकृति द्रोही चुसाहा बाटो अख्तियार गरेको थियो त्यही बाटो १९८० को दशकदेखि पञ्चायती व्यवस्थाका कर्ताधर्ता र रक्षक हिँडेका हुन् । ‘साप’ संरचनात्मक समायोजन कार्यक्रम (स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम)को माध्यमबाट विकासमा अघि बढ्ने जुन बाटो त्यतिबेलादेखि अख्यितार गरियो त्यसलाई १९९० को परिवर्तनपछि झन् तीव्र रूपमा नेपाली कांग्रेस र एमालेले काँध हाल्ने काम गरे ।

पञ्चायतले भन्दा हामी (कांग्रेस र एमालेहरू)ले यसलाई अझ तीव्र गतिमा अघि बढाउन सक्छौं र बढाउनुपर्दछ भन्दै उनीहरूले राज्यले उद्योग खोल्ने होइन राज्यको काम त सहजीकरणमात्र हो भन्ने निर्देशित नीतिमा भरपरेर अब पुराना सिद्धान्त, विचार र वादको कुरा होइन बजारले नै सबै निर्धारण गर्दछ भन्न थाले । यही क्रमलाई माओवादीले अझ तीव्रतर रूपमा पछ्यायो । अर्थात् पञ्चायतले पुँजीवादी बाहृय शक्तिहरूले नेपालको हितविपरीत डिक्टेट गरिएका र निर्देशनमा चलेका निजीकरण, उदारीकरण र बजारीकरणको जग बसाल्यो र त्यसलाई काँधमा बोकेर कांग्रेस, एमाले र माओवादी हिँडे । पञ्चायतले हुलेको साम्रज्यवादी नीतिलाई उनीहरूले अझ बढाउँदै लगे ।

त्यसै क्रममा विश्व शीतयुद्धकालीन अवस्थाबाट गुज्रिरहेको र विश्व समाज पुँजीवादी र समाजवादी प्रतिस्पद्र्धामा रहेका बेला त्यसबाट फाइदा उठाउँदै राज्यस्तरमा खोलिएका कलकाराखाना, उद्योगलाई निजीकरण गर्ने, बेच्ने क्रमले तीव्रता लियो । विश्वव्यापीकरण (ग्लोबलाइजेसन)ले श्रमको शोषण पुँजीको केन्द्रीकरण अझ तीव्र पार्दै गयो । बजारवाद र उपभोक्तावादले मानिसहरूको मनोवृत्तिमा पनि ठूलो परिवर्तन ल्यायो । अग्रगामी परिवर्तनको राजनीतिलाई पनि पद, पैसा र प्रतिष्ठा अर्थात् नाफाको निम्तिको खेल र जालझेलको राजनीतिमा खसालियो ।

आज यो क्रम अझ तीव्रतम हुनपुगेको छ । विकासका लागि प्रत्यक्ष बाहृय लगानी (एफडीआई)भन्दा अरू बाटो उनीहरूलाई सुझ्न छोडेको छ । यसरी नवऔपनिवेशिक शोषणको शिकार सम्पूर्णरूपमा पराश्रयी बन्ने बाटोमा देश धकेलिएपछि आत्मनिर्भरता र स्वाधीनता जस्तो आधारभूत कुरा निष्क्रिय बनाइएर देशलाई पराधीनताको पासोमा परियो । देशका ऊर्जाशील युवाहरू विदेश पलायन हुनुको पृष्ठभूमि नै यही हो ।

यसरी आर्थिक विकासको गलत बाटो, गलत अर्थनीति, सुशासनको अभावले गर्दा आज देशको सार्वभौमिक एवं भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, जनतन्त्रिक अधिकार, निर्वाध नागरिक स्वतन्त्रता तथा जनजीविकका सवाल गम्भीर खतरामा परेका छन् । अजंगका भ्रष्टारका एकपछि अर्का डरलाग्दा प्रकरण फैलिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिरूपमा समेत अत्यन्तै शर्मलाग्दो स्थितिबाट हामीले शिर निहुराएर हिँड्नुपर्ने स्थिति छ । हाम्रो संसद्, सांसद, सरकार र सर्वोच्चसमेत यही पासोमा परेका छन् । तिनलाई देशको सत्व, परिवर्तन अनि विकास र समृद्धिकको कुनै चिन्ता छैन ।

यसै पृष्ठभूमिमा र यी राजनीतिक, आर्थिक, सामाजिक, संस्कृति विकृति र विचलनका विरुद्ध जुध्न वा अवस्था दुवै फेर्न सशक्त र सघन प्रकृतिको व्यापक राष्ट्रिय आन्दोलनको ज्वलन्त आवश्यकता महसुस गरेर देश र जनताको स्वाधीनता, अक्षुण्णता, शतत विकास र सुदृढीकरणका लागि क्रान्तिकारी कम्युनिष्ट, वामपन्थीहरू, समर्पित लोकतन्त्रवादीहरू, देशका स्वाधीनता र अस्मिता जोगाउन चाहने सच्चा देशभक्त, तमाम शोषित उत्पीडित जनसमुदायलाई एकताबद्ध गरेर राष्ट्रिय एकतालाई सुदृढ पार्ने हेतुले नयाँ पुराना प्रतिगमनकारी, साम्राज्यवादी शक्तिका विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा आज अपरिहार्य राष्ट्रिय आवश्यकता बनेको हो । यस हिसाबले सबै खाले बाहृय हस्तक्षेपविरुद्ध यो राष्ट्रिय हितको प्रबद्र्धन, समृद्धि तथा आत्मनिर्भर दिशामा देशलाई अग्रगति दिँदै आमूल परिवर्तनको उन्नत चरणतर्फको अग्रसरता आधार विकसित हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?