बागलुङ । यतिबेला निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यवसायिक रुपमा आलु खेती गर्दै आएका किसानाले सयौँ क्विन्टल आलु वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको उनीहरुको गुनासो छ ।
भौगोलिक विकटताका कारण ओझेलमा परेको ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन् । पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले मूल्य नपाएको दुखेसो पोख्छन् ।
एक दशक अगाडिसम्म ढोरपाटन सडक सञ्जालले जोडिएको थिएन । सडक नजोडिँदा कतिपय किसानले घोडा र खच्चडमा ढुवानी गरि बजारसम्म पु¥याउँथे भने कतिपयले मजदुर लगाएर बोकेरै बिक्रीका लागि बेँशी झर्ने गर्थे । तर अहिले त्यो परिस्थिति छैन । सडकले यसक्षेत्र जोडिनु पूर्व किसानले उत्पादन गरेको आलु घोडा तथा खच्चडमार्फत बेँसीका गाउँहरुमा ल्याई मकै, धान, गहुँ र मकैसँग साट्ने गर्दथे । अहिले पनि यो चलन कायमै छ । निसेलढोरसम्म नै मोटरबाटो पुगेपछि आलु ढुवानीमा केही सहजता भने भएको छ । तर, बाह्रै महिना सडक नचल्दा त्यसबाट कृषले ठूलो नोक्सानी व्यहोर्न बिबश छन् । यतिबेला आलु खन्ने, गोदाममा थन्क्याउने र बजारका लैजानका लागि तयार गर्ने काममा उनीहरु व्यस्त छन् ।
बागलुङ जिल्लालाई पुग्ने आलु उत्पादन यस क्षेत्रमा उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन । घण्टौँ लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने गरेका छन् । भातीय बजारबाट आयातित आलुको मूल्यले आफूहरु ठूलो मर्कामा पर्ने गरेको स्थानीय कृषक शेरबहादुर विकले बताउनुभयो । पहिले–पहिले मकै र कोदोसँग आलु साट्दा केही फाइदा हुने भन्दै अहिले बजारमा बिक्री गर्दा घाटा मात्रै व्यहोर्नु परेको विकले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो गाउँ ठाउँमा आलु धेरै उत्पादन हुन्छ, आलु धेरै उत्पादन भएर के गर्नु उचित मूल्यनै पाउन सकिदैन, बजारमा बुटवल, सुनौलीबाट आएका आलु छ्यापछ्याप्ती छन्, त्यो आलुलाई व्यापारीले ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म बेच्छन्, हामीहरुलाई ४० मा माग्छन्, यसरी त हाम्रो वर्षभरीको दुःख पनि उठ्दैन, ढोरपाटनबाट ढुवानी गरेर बुर्तिबाङ ल्याउँदा पनि हजारौँ रुपैयाँ खर्च भएको हुन्छ, यो व्यवस्था सरकारले मिलाउन सके हामी किसानहरुलाई राहत मिल्ने थियो ।’
जिल्लामा आलु उत्पादनका हिसाबले प्रख्यात मानिने निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोलालगायतका क्षेत्रमा हरेक वर्ष किसानले लाखौँको आलु उत्पादन गर्दै आएका छन् । आलु बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नु पर्ने बाध्यता उनीहरुमा छन् । स्थानीय किसान तुलबहादुर घर्ती मगरले वर्षेनी करिब ७ लाखको आलु उत्पादन गरे पनि सबै विक्री गर्न नसकेको गुनासो पोख्नुभयो । गाउँसम्मै भारतबाट आयातित आलु आउने हुँदा बिक्री गर्न समस्या भएको बताउनुभयो ।
बाहिरबाट आएको आलु देख्दा राम्रो र किन्दा सस्तो पर्ने हुँदा उपभोक्ताले गाउँमा उत्पादन भएको भन्दा आयातित आलु किन्ने गरेको उहाँको भनाइ छ । तर, त्यो आलुभन्दा गाउँमा उत्पादन भएको आलु स्वास्थ्यका लागि फाइदाजनक हुने घर्ती मगरले बताउनुभयो । स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाउँदासम्म स्थानीय आलुले बजार नपाउने उहाँको भनाइ छ । नगरपालिका तथा गाउँपालिकाले नीति बनाएर लाग्नु पर्ने उहाँ बताउनुहुन्छ ।
‘आलुले बजार पाउने हो भने हाम्रो क्षेत्रका किसान कहिल्यै पनि गरिब हुनुपर्ने थिएन । हरेक वर्ष सामान्य किसानले पनि २ देखि १५ लाख बढीको आलु उत्पादन गर्छन । उसलाई बच्ने भनेको उही ५/७ लाखको हो,’ घर्ती मगरले भन्नुभयो – ‘बाहिरबाट आउने तरकारीलाई सरकारले रोक्न सक्थ्यो भने यहाँका थुप्रै किसानहरुको जीवनस्तर उकासिने थियो, वर्षभरी दुःख गरेर आलु उत्पादन गर्छ, त्यही पनि समयमै बिक्दैन, बिके पनि मूल्यभन्दा निकै कममा बेच्नु पर्छ, हाम्रो समस्या कसले बुझ्ने ?’
यसवर्ष निसीखोला क्षेत्रमा आलु उत्पादन बढ्ने देखिएको छ । गाउँपालिकाले किसानलाई नयाँ प्रविधिबाट आलु लगाउन तालिम दिएको र सोही अनुसार खेती गरेको हुँदा आलु उत्पादन बढ्ने सम्भावना देखिएको कृषि शाखा प्रमुख तारा परियारले बताउनुभयो । नयाँ प्रबिधिबाट पुरानै बीउ लगाउँदा धेरै ठाउँका किसानले आलु बढेको जानकारी गराएको परियारले बताउनुभयो । गाउँपालिको यसवर्ष आठ हजार किलो रैथाने जातको आलुको बिउ किसानलाई वितरण गरेको उहाँको भनाइ छ ।
प्रमुख परियारले भन्नुभयो – ‘निसीखोला र निसेलढोरमा धेरै आलु उत्पादन हुन्छ, यहाँका अधिकांश किसनाले पुरानै शैलीबाट आलु खेती गर्दै आउनु भएको थियो, हामीहरुले नयाँ प्रबिधिबाट आलु खेती गर्नका लागि तालिम दियौँ, उहाँहरुले यसपाली फरक शैलीमा पुरानै बिउ प्रयोग गरेर खेती गर्नु भयो, राम्रो उत्पादन भएको प्रतिक्रिया दिनु भएको छ, यस वर्ष आलु उत्पादन बढ्ने संभावन बढी छ, समयमै वर्षा भयो, नयाँ तरिका पनि अपनाइयो ।’
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि आयातित तरकारी रोक्नका लागि निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरि रहेको बताउनुभयो । पश्चिम बागलुङका चार पालिकाले बाहिरबाट आउने आलु लगायतका तरकारीजन्य वस्तु आयातमा रोक लगाई स्थानीय उत्पादनलाई जोड दिने गरि योजना बनाएको उहाँले बताउनुभयो । यहाँका किसानलाई उन्नत जातका बिउ भिजन, आवश्यक तालिक, आधुनिक उपकरण र प्रबिधिक सहयोग गरि उत्पादन बढाउन प्रेरित गर्ने कार्यक्रम संचालन गर्ने उपप्रमुख कायतको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच