संरक्षण केन्द्रभित्रै युवतीको शंकास्पद मृत्यु

नन्दराम जैशी
Read Time = 7 mins

सुर्खेत । मनोसामाजिक परामर्शका लागि संरक्षण केन्द्रमा बस्नुभएकी एक युवतीको कालिकोटमा शंकास्पद मृत्यु भएको छ । कालिकोट सान्नीत्रिवेणी गाउँपालिका–१, लुसा माइतीघर भएकी २५ वर्षीया युवती गीताकुमारी जैसी शाहीको संरक्षण केन्द्रभित्रै शंकास्पद मृत्यु भएको हो ।

मृतक युवती संरक्षण र मनोसामाजिक परामर्शका लागि सोसेक नेपाल नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा बस्नुभएको थियो । तर आइतबार बिहान झुण्डिएको अवस्थमा शौचालयभित्र उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन केसीले जानकारी दिनुभयो ।

जोखिममा रहेका महिला र बालबालिकाको उद्दार, राहत र पुर्नस्थापनाका लागि सोसेकले सेल्टर स्थापना गरेर काम गर्दै आएको भए पनि त्यहाँ खटिएको केही दिनमै उनको मृत्यु भएपछि घटनालाई शंकास्पद मानिएको छ ।

‘उहाँ गत भदौं २२ गते बेपत्ता हुनुभयो भनेर आफन्त आन्दोलित हुनुभएको थियो, उहाँ सम्पर्कमा आएपछि सुरक्षाको कारण देखाउँदै आफन्तले उहाँलाई लिन नमानेपछि हामीले संरक्षण र मनोपरामर्शका लागि सोसेक नामक संस्थामा राखेका थियौं,’ डिएसपी केसीले भन्नभुभयो, ‘त्यहीँ क्रममा आइतबार बिहान सवा नौं बजे सलको पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको खबर हामीलाई आयो ।’

शव घटनास्थल मै रहेको र आफन्त आएपछि पोष्टमार्टका लागि प्रक्रिया अगाडि बढाइने उल्लेख गर्दै हत्या वा आत्महत्या के हो ? भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी केसी बताउनुहुन्छ । श्रीमानको लामो समयदेखिको मानसिक तथा शारीरिक यातना सहन नसकेर युवतीले आत्महत्या गरेको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
तर संरक्षणमा राखिएको अवस्थामा गीताको रहस्यमय मृत्यु हुनुले आफन्तहरुले आत्महत्या नभई हत्या भएको हुन सक्ने अनुमान लगाएका छन ।

मृत्युको कारण पारिवारिक झमेला पनि

मृतक युवतीका ५५ वर्षीय बुवा धनीराम जैसीको तीन वर्षअघि २८ भदौ २०७७ मा मृत्यु भयो । घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भीरबाट खसेका थिए । आफन्त र प्रहरीले यो घटनालाई दुर्घटनाको रुपमा लिए ।

तर, ९ भदौं २०८० मा जैसीको मृत्युको कारण दुर्घटना नभएर भीरबाट धकेलेर मारेको भन्ने खुल्यो । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका थिए । माइती पक्षले आफ्नी छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक हिंसा दिन सुरु गरेका थिए ।

छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए । हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाए । आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि भने उनका बुवाको मृत्युको कारण खुल्न पुग्यो ।

एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत मुद्दा फिर्ता नलिए बुवा (ससुरा) लाई जस्तै केटाहरु प्रयोग गरेर आमा–छोराको हत्या गर्ने धम्की दिन थालेको खुलेको छ ।

म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले भदौ ९ गते कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराउनुभयो । प्रहरीले दानबहादुरलाई १० गते पक्राउ ग¥यो । प्रहरीले पक्राउ गरेसँगै उहाँकी कान्छी श्रीमती मृतक गीता र छोरा भदौं २० मा कोठाबाट हराएका थिए । उनीहरु हराएको तीन दिनपछि नेपालगन्जमा भेटिएका थिए । त्यसबेला गीताका आफन्तले दानबहादुरले नै आमा–छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका थिए ।

गीता वेपत्ता भएपछि आफन्तले दानबहादुरले नै श्रीमती र छोरालाई गायब बनाएको भन्दै भदौं २२ गते दिनभर जिल्ला प्रहरी कार्यालय कालीकोटमा धर्नासमेत दिएका थिए । गीताको जिल्ला अदालत कालीकोटमा सम्बन्धविच्छेद र अंशबन्डाको मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?