स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु हुँदैन, शीर्ष नेताहरुसँग आग्रह गर्छु : राष्ट्रपति

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताउनुभएको छ ।

सोमवार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताउनु भयो । उहाँले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु नहुने बताउनु भयो ।

उहाँले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न नहुने बताउनु भयो । उहाँले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीयता, गणतन्त्र र यो देशमा लोकतन्त्र हामीले जुन चरितार्थ गर्ने संविधान निर्माण गरेका छौँ, आज त्यसलाई कार्यान्वयनमा ल्याउनु छ । यो निजामति ऐनदेखि लिएर संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने छ । वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरु, अहिले अझै पनि संविधानको मर्म अनुरुप अधिकार सम्पन्न हुन सकेका छैनन् । उनीहरु अझै पनि उनीहरुलाई नियन्त्रित रुपमा अड्कलेर अलि अलि अड्कलेर अधिकार दिइने एउटा कन्जुस्याँइ भएको छ । अब यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्छ । अब जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न हुँदैन । म प्रधानमन्त्री, पार्टीका नेताहरुलाई पार्टीका केन्द्रका नेताहरु, खासगरी तीन जना हाम्रो देशका अहिले जुन मुख्य शासकहरु, प्रचण्ड, केपी ओली र शेरबहादुर उहाँहरु तीन जनालाई पनि म राम्रैसँग मैले स्म्झाउने गरेको छु, सम्झाउँछु । म उहाँहरुलाई हेर्नुहोस्, तपाईहरु कन्जुस्याँई नगर्नुस् भनेर तपाईहरु तीन जनाले चाहने हो भने यो देश संघीयतामा पुग्छ भनेर सँगै बोलाएर भन्नेछु ।’

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उहाँलाई नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गर्नुभएको थियो । यस्तै प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गर्नुभएको थियो । यसअघि राष्ट्रपति पौडेलले आज बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?