संघीय संविधान बचाउन राष्ट्रपतिलाई मुख्यमन्त्रीको अपिल

राष्ट्रपतिको जवाफ-‘मुख्य तीन नेतालाई भन्छु’

हिमालय टाइम्स
Read Time = 9 mins

पुरन साह/हिटा
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयतालाई कमजोर नपारी झन् अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले देशमा संघीयता, गणतन्त्र, लोकतन्त्र चरित्रार्थ गर्ने संविधान निर्माण गरेकोमा त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट राम्ररी नभएको भन्दै प्रदेश र स्थानीय तहलाई बाँडफाँट गरेर अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्रदेश र स्थानीय तह अहिले पनि संघीयताको मर्मअनुरूप अधिकार सम्पन्न हुन सकेको छैन । उनीहरूलाई अलिअलि गरेर अधिकार दिन कञ्जुस्याइँ भएको छ । यो हुनुहुँदैन । अब जनतालाई अधिकार दिने कुरामा कुनै कञ्जुस्याइँ हुनु हुँदैन ।’

समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय संविधानमाथि खतरा रहेको भन्दै बचाइदिन गुहार गर्नुभएको थियो । सोही भनाइमा राष्ट्रपति पौडेलले आफूले प्रमुख तीनजना शासकहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र शेरबहादुर देउवालाई सम्झाउने गरेको बताउनुभयो । ‘संघीयता नियन्त्रित छ । अलिअलि अड्कलेर अधिकार दिइएको छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘दिल खोलेर अधिकार दिनुपर्छ । कञ्जुस्याइँ नगर्नुस् । तपाईं आँट गर्नुभयो भने देशमा संघीयता अगाडि बढ्छ भनेर ओली, देउवा र प्रचण्डजीलाई बोलाएर राम्रोसँग भन्छु ।’ तीनजना मिल्नुपर्ने न हो । भन्दै राष्ट्रपतिले भन्नुभयो, ‘म भन्छु तीनैजना मिल्नुभयो भने देशको विकास र संविधानको कल्याण सबै सम्भव छ ।’ उहाँले देशलाई मिलाएर लानुपर्ने र सबैलाई समान अधिकार दिनुको विकल्प नरहेको समेत बताउनुभयो ।

यस्तै, राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले यसले मधेशमा वर्षौंदेखि व्याप्त रहेको समस्या समाधान गर्नमा आफूले भूमिका खेलेको जिकिर गर्नुभयो । उहाँले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै मधेशमा देखिएको नागरिकता समस्या समाधान भएको र यसले समाजिक न्याय र कानुनी राज्यको समेत अनभूति गराएको बताउनुभयो । राष्ट्रपति पौडेलले मधेशको सिँचाइ अभावका बारेमा आफूलाई अवगत रहेको भन्दै त्यसका लागि प्रयास भइरहेको र अझै कामका लागि राजनीतिक दल र सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो । उहाँले आफू राष्ट्रपति भएपछि देशमा भाइचारा र सबै क्षेत्रको अपनत्वका लागि पशुपतिनाथ, स्वम्भूनाथ, गोरखनाथ र गोरखकालीका साथै जानकी मन्दिरको दर्शन गरेको बताउनुभयो । देशको सीमामा बसेर सीमाको रक्षा गर्ने सच्चा राष्ट्रवादी मधेसी जनतालाई सिंहदरबारको शासकले चिन्नुपर्ने र सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस अगाडि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संविधानमा उल्लेख भएको कर्मचारी र प्रहरी प्रशासनबिना काम गर्न अप्ठेरो हुँदा जनताहरूको विश्वास प्रदेश सरकारबाट हट्न थालेको भन्दै संविधानको रक्षकको नाताले संघीयता बचाउन सक्रिय भइदिन राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो । जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित विशेष समारोहमा उपमहानगरपालिकाका प्रमुख मनोज साहले राष्ट्रपति पौडेललाई दोसल्ला ओढाएर नागरिक अभिनन्दन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको पनि समुद्घाटन गर्नुभएको थियो । सो अवसरमा कांग्रेस नेता विमलेन्द्र निधि, एमाले नेतृ जुली महतो, जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह, मुख्यमन्त्री यादव सहितकाले सम्बोधन गर्दै राष्ट्रपति पौैडेलको राजनीतिक जीवनको चर्चा गर्नुका साथै नागरिकता ऐन प्रमाणीकरणका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

जनकपुरधाम विमानस्थलमा सोमबार बिहान ९ बजे नेपाली सेनाको विमानबाट अवतरण गर्नुभएका राष्ट्रपति पौडेलले त्यहाँबाट सिधै जानकी मन्दिर पुगेर विशेष पूजापाठ र दर्शन अवलोकन गर्नुभएको थियो भने त्यसपछि प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गर्नुभएको दिवाभोज र नेपाल राष्ट्र बैैंकको अतिथि गृहमा विशेष भेटघाटमा सहभागी हुनुभएको थियो ।

संस्कृति केन्द्र समुद्घाटनसँगै चौतर्फी उत्साह
सोमबार जनकपुरधामको मध्यबिन्दु जिल्ला प्रहरी कार्यालय अगाडि तयार भएको ‘महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभागृह’ को समुद्घाटनप्रति सबै राजनीतिक दलका नेताहरूले खुसी व्यक्त गरेका छन् । २०५७ सालमा यस भेगका राष्ट्रिय नेता महेन्द्र नारायण निधिको स्मृतिमा केही बन्नुपर्ने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आग्रहमा तत्कालीन जनकपुरधाम नगरपालिकाका प्रमुख बजरंगप्रसाद साहले जग्गाको जोहो गरिदिएर जनकपुरधाममा विशेष कार्यक्रमहरूका लागि आवश्यक पर्ने सभाहल निर्माणको काम थालिएको कांग्रेस नेता विमलेन्द्र निधिले बताउनुभयो । उहाँले स्व. महेन्द्र नारायण निधिले महिलाको सम्मान गर्दै आफ्नी धर्मपत्नीको हातबाट शिलान्यास गरेको केन्द्रको पूर्णता आफ्नो लागि खुसीको क्षण भएको बताउनुभयो । बुवाको नाम र स्मृतिमा आमाको हातबाट शिलान्यास भएको जनकपुरधामका लागि अति उपयोगी आयोजनाको सफलता र समुद्घाटनले सम्पूर्ण परिवार खुसी भएको उहाँले सुनाउनुभयो ।

‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २०६५ असार ३० गते सात करोड २४ लाख ६८ हजार ८८९ को ठेक्का लगाएको थियो । ठेक्का पाउने निर्माण कम्पनी थियो कालिका रमण जेभी । ६ सय मानिस बस्न सक्ने सिट क्षमता भएको सभाहल तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा भए पनि पूर्णता पाउन दुई दशक बढी समय लाग्यो । पटक-पटक सम्झौताको म्याद थप हुँदै अन्ततः ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ तयार भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?