विकास र रोजगारीको मियोको रुपमा मन्त्रालयलाई स्थापित गर्छु : मन्त्री चित्रकार

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । बागमती प्रदेश उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जनताको जीवन स्तर उकास्न उत्पादन, उद्योग र रोजगारीमा जोड दिने बताउनु भएको छ ।

नेपाली काँग्रेस, सिन्धुलीले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले देशलाई आत्मानिर्भर बनाउन अर्थतन्त्रको विकास हुने कार्यमा जोड दिने बताउनु भएको हो ।

देशमा रोजगार प्राप्त नभएर विदेशीनुको पीडाले ठूला राजनीतिक पार्टीहरुले नागरिक स्तरबाट गाली खाईरहनु परेको तर रोजगारी सिर्जना गर्न उद्योग र उत्पादन विकासमा ध्यान दिन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विकासको मेरुदण्डका रुपमा रहेको युवा पलायनलाई रोक्न देशमै रोजगारीको विकास गर्न नयाँ ढंगले अगाडी बढ्नु पर्छ । हामी परमुखी भइसकेका छौँ । मित्र राष्ट्रले एक दिन उपभोग्य बस्तु रोकिदियो भने भोकै हुने स्थितीमा पुगिसकेका छौँ । अब उत्पादन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुको विकल्प छैन ।’

उद्योग तथा सामान्य प्रशासन मन्त्रालयलाई जनताको मन्त्रालय बनाउने उहाँले सुनाउनुभयोे । ‘उद्योग क्षेत्रलाई सुधार गरेर विकास र रोजगारीको मियोको रुपमा मन्त्रालयलाई स्थापित गर्छु । यसको लागि तपाईहरुको साथ, सहयोग र योजनाहरु चाहन्छु ।’

उहाँले सिन्धुलीको स्थानीय उत्पादहरु जुनार, सुन्तला, भुईकटहर लगायतका फलफूलहरुको जुस उद्योग खोल्न तथा सिन्धुलीमाढीमा बन्द अवस्थामा रहेको शितभण्डारलाई संचालन गर्न आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्लामा रहेका फलाम खानी लगायतका सम्भाव्यतालाई अध्ययन गरेर उद्योगको रुपमा स्थापित गरी आफ्नै ठाउँमा रोजगार पाउने वातावरण बनाउन सबैले चिन्तन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

नेपाली काँग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जन लगायत काँग्रेसका नेता तथा शुवेच्छुकहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?