रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको अन्सारीको आरोप

Read Time = 4 mins

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आफ्नो चरित्र हत्या गर्न नेकपा एमालेका नेताहरुले पैसा बाँडेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले जनकपुरमा मतदातालाई पैसा बाँडेर नेकपा एमालेका नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको बताउनुभएको हो । अध्यक्ष अन्सारीमाथि मतदातालाई प्रभावित पार्न जनकपुरमा पैसा बाँडेको आरोप लागेको थियो ।

उहाँले बिहान ११ बजेको समयमा केही हुल गुण्डाहरु आएर आफूमाथि हमला गर्ने प्रयास गरेको पनि बताउनु भयो । उहाँले आफ्नो चरित्र हत्या गर्नखोज्नेहरुमाथि छानबिन गरीकारबाहीको माग गर्नुभएको छ ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘मंगलवार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो । त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५/२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो ।

नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो । यतिसम्म कि यहाँ करोडौँ रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत हो । अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु । म हिजो एमाले पार्टीमा आवद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ । आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुःखका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए ।

उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराउ भनेर पठाएका थिएँ । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन् । यदि मैले गलत क्रियाकलाप गरेको हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घेराउ गर्नुपर्थ्यो । मलाई त्यो आरोप लगाउनुपर्थ्यो । तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ । यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु ।’

अध्यक्ष अन्सारीले आफ्नो चरित्र हत्या गर्ने लक्ष्य राखेर एमालेका नेताहरुले फण्डा मच्चाएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?