पृथ्वी वीरबाट खाली छ ?

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

मलाई सम्झना भएअनुसार २०२८/०२९ सालतिरको कुरो हो । मंसिरको विवाह पञ्चमीदेखि जनकपुरको १२ बिघाको मैदानमा रामलीला टोली आएर राति ८. बजेदेखि ९/१० बजेसम्म मञ्चमा रामलीला प्रदर्शन गर्दथे । हामी पराल बोकेर ठाउँ ओगट्न ६/६.३० बजेतिरैदेखि नै बार बिघामा पुग्थ्यौं । अनाध्यायका दिन धेरै जना हुन्थ्यौँ अघिपछि लुकीछिपी जानुपर्ने भएको हुनाले नपढ्ने बदमास जतिको जत्था जम्मा हुन्थ्यो नेपाल राजकीय संस्कृत प्रधान पाठशाला ज्ञानकूपबाट । शिवधनुष भन्जन प्रदर्शनका बेलाका दृश्य हेर्न मलाई असाध्य नै स्वाद लाग्थ्यो र म बुझ्दै गरेर ती बेलाका तीनचार दिन चाहिँ जसरी पनि पुगेरै छाड्थेँ ।

संसारका प्रसिद्ध राजाहरूले जनकको प्रतिज्ञा अनुसार जब पिनाक धनुष भाँच्नु त के ? हल्लाउन र तिलको दानु जति पनि टसमस गराउन नसकेपछि राजा जनक आएर खेद व्यक्त गर्दै भन्छन्-‘पृथ्वी वीरों से खाली है ?’ सनक्क सन्कँदै उठेको लक्ष्मण्मले रघुवंशको वीर गाथा सुनाउँदै जनकलाई लल्कार्दछ । त्यो लल्कारदेखि परशुराम र लक्ष्मण संवादसम्मका दृश्यहरू हेर्न पाए आज पनि म जान्थेँ जस्तो लाग्छ । तिनमा शास्त्रीय मर्यादा, राजाको कर्तव्य, जनताको रुचि र जनरुचिको सम्मान, पिताको जिम्मेवारी, दाजुभाइका बीचको प्रेमसम्बन्ध, छोरीका बाबुको हाम्रा समाजमा हुने अवस्था विदेह वंश र रघुवंशका बीचको द्वन्द्व र सम्बन्ध स्थापनामा ऋषि समाजले खेलेको भूमिका जस्ता गम्भीर कुराको प्रस्तुति भेट्थेँ म ।

शिक्षक आन्दोलनमा झन्नै गल्ती गर्न लागेको वर्तमान सरकारलाई ककसले सम्झाएर गल्ती गर्नबाट जोगाए जोगाउनेलाई धन्यवाद छ । राजनीति नीतिमध्येकै उद्दीप्त नीति हो । अतः त्यो आकाशजस्तो व्यापक, पृथ्वीजस्तो सहनशील र समुद्रजस्तो दुर्लङ्घ्य पनि हुनुपर्दछ । 

एकातिर महाकवि कालिदासको ‘शैषवेद्रभ्यस्तविद्यानां यौवने विषयैंषिणाम्’ अर्थात् बाल्यावस्थामा विद्याको अभ्यास ज्ञान साधनाशिल्प सिकाइ दक्षता आर्जन र युवावस्थामा विषयवासनामा निमग्न रही रोजोगुणी वृत्ति अवलम्बन गरेर ब्रहृमाको प्रतिनिधि बनी सिर्जन प्रक्रियालाई निरन्तरता प्रदान गरेर वार्धक्यावस्थामा मुनि वृत्ति अवलम्बन गरी योगका माध्यमले पाञ्चभौतिक शरीर परित्याग गर्ने प्राचीन पौरस्त्य जीवनशैलीको स्वर्णगाथा पढ्दथेँ । त्यसको व्याख्या रामलीलाका ती दृश्यावलीमा र संवादमा पाउने गर्दथेँ । यसैगरी म कृष्णलीलाका पनि ती दृश्य हेर्थें जसमा कालीयदमन र गोबरधन धारण हुन्थ्यो ती छाड्दिनथेँ ।

समाजिक जीवन बिताउन चाहनेले त ताडका बध, खरदूषण संहार, पिनाकभञ्जन, मधुवन लुटजस्ता रामायणका प्रसंग राम्ररी पढ्नु आवश्यक छ किनभने ताडका नारी भएर अबध्य ठानिएको भए समाज नै विध्वस्त बन्ने थियो । व्यक्तिले यदि समाजलाई पिरोल्छ, समाजले विकास गरेका सभ्यता संस्कृति र व्यवस्थामा खलल पु¥याउँछ भने त्यो दण्डनीय हुन्छ जस्तोसुकै भूमिकाको भए पनि भन्ने रामायणको प्रस्तुतिलाई हाम्रै सर्वोच्च अदालतले पनि सरकारी जमिन बेच्ने कागजातलाई सही गरेर कार्यान्वयन गर्न आदेश दिनेलाई अनुसन्धानको दायरामा ल्याउन दिएको आदेशमा रामको निर्णय देखिन्छ तर सरकारले चाहिँ रावणीय कार्यशैली अवलम्बन गरेर सानालाई ऐन ठूलाबडालाई चैन साबित गरेको देखियो ।

वनमा बसेर तपोसाधनाका माध्यमले ज्ञानविज्ञानको प्रवर्धन गर्न तल्लीन रहेका ऋषिलाई अहिलेको सरकारले समाजका गुरुलाई अपहेलना गरे जस्तै गरी सभ्यतालाई नै ध्वस्त बनाउन लागेका १४ हजारको समूहलाई क्षणभरमा नै ध्वस्त पारेको कुरा आउँछ । संगठनले नचाहिँदो काम ग¥यो भने खरदूषणादि नास भएजस्तै गरी संगठनको पनि नास हुन्छ भन्ने सन्देश यस प्रसंगले दिएको छ । नेपालकमा राजनीति गर्ने दलनायकले यो प्रसंग गम्भीर बनेर पढ्नु आवश्यक छ । सीता पत्ता लाएर समुद्रवारि आएको वानरी फौजले सुग्रीवको मधुवन नाम भएको बगैंचामा भएका अमृतोपमफल लुटेर खाएका छन् ।

अत्यन्त खुसीका बेला, जनताको ठूलो समूह एउटा कुनै लक्ष्यमा आबद्ध भएर निक्लेका बेला राज्यले बल प्रयोग गर्नु हुँदैन भन्ने सन्देश यस प्रसंगले दिएको छ । यो शिक्षक आन्दोलनमा झन्नै गल्ती गर्न लागेको वर्तमान सरकारलाई ककसले सम्झाएर गल्ती गर्नबाट जोगाए जोगाउनेलाई धन्यवाद छ । राजनीति नीतिमध्येकै उद्दीप्त नीति हो । अतः त्यो आकाशजस्तो व्यापक, पृथ्वीजस्तो सहनशील र समुद्रजस्तो दुर्लङ्घ्य पनि हुनुपर्दछ । यी कुनै पनि कुरा २०५१/०५२ यताका नेपाली सरकार तथा उसले पालन गरेका नीतिमा देखिएनन् । यसै कारणले जनताको विश्वास राजनीतिक दलले र सरकारले पनि गुमाउन लागेको महसुस गरिएको हो ।

कालीनागलाई कृष्णले दमन गरेको प्रसंगबाट गाउँको, समाजको, देशको र विश्वकै अमनचयनमा खलल ल्याउने कुरालाई समूल उच्चछेद गर्नुपर्छ भन्ने कृष्णका सन्देशलाई २०१५ सालको १८ महिने विश्वेश्वरप्रसाद कोइरालाका सरकारले कार्यान्वयन गरेको थियो । बिर्ता उन्मूलन, वन राष्ट्रियकरण, जमिनमा स्वामीत्वको हदबन्दी, राजमुकुटहरू (श्रीपेच) को एकत्रीकरण, त्यसका भत्ताको खारेजी, राष्ट्रिय बजेट संसदमा प्रस्तुत गर्ने र आवधिक विकासका योजना बनाई लागू गर्नेजस्ता परम्परा बसालेर देशलाई विश्वका व्यवस्थित जनप्रतिधिबाट शासित मुलुकका रूपमा उभ्याएका थिए । २०१५ सालमा नै विश्वविद्यालय स्थापना गरेर ज्ञानविज्ञानको साधना केन्द्र देशमा बनाएका थिए ।

छोटो समय र ज्ञानविज्ञानको विकास नभएका कारणले विप्र सरकारले देशका सबैतिर सञ्चारसंयन्त्र स्थापना गर्न र सञ्चारसञ्जालको निर्माण गर्न नभ्याएका कारणले २०१७ सालमा प्रजातन्त्रको घाँटी समातेर जनता र यसका विकास प्रक्रियालाई आफ्ना र आफ्ना पिछलग्गूका सनकमा चलाउन राजा महेन्द्र सफल भएका थिए । यसलाई २०४८ को गिरिजाप्रसाद कोइराला सरकारले पूरा गरेको थियो । अहिले देशमा विश्वका कतिपय मुलुकमा भन्दा भरपर्दो सञ्चार सञ्जालको विकास भएको छ र निजी संस्थाहरू पनि विकसित भएका छन् ।

आजको अर्थतन्त्रमा, शिक्षामा र सञ्चारमा सरकारी आधारमा टेकेर व्यक्तिका लगानी र व्यक्ति समूहका लगानीले राष्ट्रलाई निकै भरथेग गरेको कुरो कोरोना कहरका बेला ओली सरकार तथा स्थानीय निकायले पनि गर्न नसकेको केही मनस्वी व्यक्ति र व्यक्ति समूहले भोकलाई पेटभरि अन्न खान दिएर सभ्य समाजका क्रियाकलाप प्रस्तुत गरेको सहन नसकी देशको बेइज्जत भयो भनी ओली सरकार तथा काठमाडौं महानगरपालिकाले त्यस बेला ती भात खुवाउने समूहलाई लखेट्ने अनेक झन्झट लाउने गरेको पनि देखियो । अब मतदाताको पालो हो विगतका यस्ता क्रियाकलाप सम्झेर चुनावका बेला यस्ता दल व्यक्ति, व्यक्तिसमूहलाई पाठ सिकाउने ।

यदि नेपालमा वीरहरू छन् भने अब पिनाक पूज्ने होइन यसलाई भाँचेर नवसभ्यता प्रवर्तन गर्ने हो भन्ने सन्देश नेपाली मतदाताले बुझून् अन्यथा पुराना खिया लागेका मुद्रा समाजमा नचलेर व्यवहार नै ठप्प होला । 

नेपालमा राजनीतिको उच्च स्थानमा रहेका आठजना व्यक्तिले कालीनागले समग्र यमुनाको पानी प्रदूषित पारेजस्तै गरी नेपाली राजनीति र प्रशासन तथा परराष्ट्रनीतिलाई नै प्रदूषित गरेका छन् । तिनलाई राजनीतिको मञ्चबाट बाहिर नपुर्‍याउने हो भने दीर्घकालसम्म नेपाली राजनीतिले जनता र देशको भलो गर्ने ठाउँमा विषले गर्ने काम गर्नेछ । अतः २०८४ का चुनावमा नेपाली जनताले कृष्णको कालीय दमन प्रसंगलाई राम्ररी बुझेर मात्र मतदान स्थलमा जानु आवश्यक छ ।

सर्प जन्मजात विषालु जीव हो । त्यो रहेसम्म त्यसले सास फेर्दा पनि विष बाहिरिन्छ नै । अतः यी सोच, योजना र उत्साह नभएका पुराना जरबुटाबाट निदाल, दलिन र खाँबाको काम लिन सकिँदैन । जरबुटा पलाएको नाभाबाट दाउरा बाल्नमात्रै सकिन्छ । नाभो धान फलाएर ढिकुटी भर्न सकिँदैन । गोरु नलागी ब्याएका गाईले ढुंग्राभरि दूध दिँदैन । यो हामी सबैले अनुभव गरेकै कुरो हो ।

वीर मान्छे वीरकै वंशमा जन्मन्छ भन्ने नभए पनि प्रायः वीरलाई उत्साही बन्न संस्कार तथा सङ्घर्षको आवश्यकता पर्दोरहेछ । नाजायज धनमा हुर्किएका बालकबाट यो असम्भव छ र भोको र दरिद्र मान्छेको पनि आङ र पेटका ज्वाला दन्किरहने भएको हुनाले अति गरिबीबाट सम्पन्नताको अनुभव गर्नपुगेको मान्छे प्रायः क्रुर, निष्ठुर, योजनाविनाको फुस्रा गफ गर्ने खालको हुन्छ । यो मनोवैज्ञानिक सत्य हो । यस्तै परिप्रेक्ष्यमा राजा जनकले ‘पृथ्वी वीरबाट खाली भएको छ ?’ भनेर प्रश्न गरेका थिए । जनकको यो विषादले संसारका कुनै पनि राजा युवराजलाई छोएन । कोही पनि चुँ गरेनन् अनि दाजुतिर हेरे लक्ष्मणले तर न दाजुले अनुमति दिए न त गुरु विश्वामित्रले नै ।

लक्ष्मणले तताएको वातावरणमा रामले उठेर गई धनुष् भन्जन गरेका थिए । धनुर्भञ्जनको गगनभेदी शब्दले परशुरामलाई निम्त्यायो । परशुरमालाई अनेकौं अनुनयविनय जनकले, शतानन्द, विश्वामित्र तथा वशिष्ठले गर्दा पनि उनी शान्त हुनाको साटो झनै उग्र उत्तेजित भएर फर्सा नै उठाउन लागेपछि फेरि लक्ष्मण ऋषिका दन्कँदा क्रोधाग्निमा घृत धारा दिन लागे । त्यस बेला तिनको मुखमुद्रा पनि विचित्रको बनेको थियो । आँखीभौं टेढो बनाएर एउटा हात बाणका ठोक्रातिर पुर्‍याउँदै अर्को हातको चोर औंलो ठड्याएर लक्ष्मण बोल्न लागेका थिए । अनिमात्रै जनक सभा स्तब्ध भएको थियो ।

जब परशुरामको फर्सा उठ्यो अनि राम अघि सरेर विनम्र शब्दावलीमा चुनौतीका वाक्बाण रामले पनि प्रहार गरेर परशुरामको उर्लँदो क्रोधका ज्वालामा मधुरवाणीका लेपको वर्षा गराएका थिए । यस प्रसंगले व्यक्ति, व्यक्ति समूह या संघसंस्था कुनै न कुनै लोककल्याणका काममा संबद्ध रहनु आवश्यक छ भन्ने सन्देश दिएको छ । बलको र वृथाभिमानको दीर्घजीवन र मूल्य हुँदैन ।

वृथाभिमानीलाई मौका मिलाएर दण्डित गर्नैपर्छ अनि मात्रै लोकले र सभ्यताले पनि अगामी गन्तव्यको मार्ग पाउँछन् भन्ने सन्देश प्रदान गरेको देखिन्छ । थोत्रो धनुष पूजेर मानवजीवनलाई लक्ष्यविहीन बनाउनु कुनै पनि दृष्टिले ठीक थिएन । अतः यदि नेपालमा पनि वीरहरू छन् भने अब पिनाक पूज्ने होइन यसलाई भाँचेर नव सभ्यता प्रवर्तन गर्ने हो भन्ने सन्देश नेपाली मतदाताले बुझून् अन्यथा पुराना खिया लागेका मुद्रा समाजमा नचलेर व्यवहार नै ठप्प होला । त्यसका दोषी नेपाली मतदाता नै देखिनेछन् । ‘मौका आउँछ पर्खंदैन त्यसमा चुक्ने महामूर्ख हो, बैरीको प्रतिशोध गर्छु पछि है भन्ने महालन्ठु हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?