महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

हिमालय टाइम्स
Read Time = 2 mins

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बिहीबारदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ ।

श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गर्नुभएको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २-० को सोझो सेटमा पराजित गर्दै श्रीदलले विजयी सुरुवात गरेको हो ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजंग गुल्म बझाङ विजयी भएको छ । सो खेलमा वीरभद्रजंग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २-० को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिता उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीले मार्चपास प्रस्तुत गरेका थिए । बाहिनीस्तरबाट छनोट हुने टोली आगामी चैतमा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी-२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

आगामी शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै रुद्रध्वज गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सागर कार्की बाहिनी तथा गुल्मका सैनिक अधिकृतलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?