नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका-१३ साँखे(फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा सय एमभिए क्षमताको पावर ट्रान्सफर्मरमात्र रहेकोमा दुई सय एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मर मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई तीन सय एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ) नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको प्राधिकरणले जनाएको छ ।

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत् ढल्केबरतर्फ प्रवाह गरिनेछ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । जसले गर्दा मुख्यरूपमा लिखुनदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् पूर्णरूपमा प्रवाह हुन सकिरहेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाले बेहोरिरहेको विद्युत् प्रवाह समस्या समाधान भएको बताउनुभयो । नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही आयोजनाको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘नयाँ ट्रान्सफर्मर सञ्चालनसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजनाहरू आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्नेछ ।’

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीयरूपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताउनुभयो । प्रमुख गौतमले सबस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको बताउनुभयो ।

स्थानीयरूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत् धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत् सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेसनतर्फ प्रवाह गरिएको छ । २२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले सय एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?