कतारी राजकुमारीले गरिन् अन्नपूर्ण हिमालको सफल आरोहण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएको छ । राजकुमारी अलथानी प्रख्यात पर्वतारोही निर्मल (निम्स) पुर्जासँगै अन्नपूर्णको चुचुरोमा शनिबार (हिजो) दिनको ४ बजे पुग्नुभएको हो ।

विभिन्न तालिमसहित प्रशिक्षणपछि कतारी राजकुमारीले आरोहण गरेको एलिट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । राजकुमारी अलथानी पर्वतारोहणको क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्मल पूर्जाको जन्मगाउँ अन्नपूर्ण–३ दानामासमेत भब्य स्वागत गरिएको थियो ।

एक महिना अगाडी दानामा आउनुभएकी राजकुमारी अलथानीले आरोहणका लागि आवश्यक पर्ने सम्पूर्ण तालिम सम्पन्न गरेपछि आरोहणमा सहभागी हुनुभएको थियो । उहाँ अन्नपूर्ण हिमालको आरोहण गर्ने पहिलो कतारी महिला बन्नुभएको छ ।

राजकुमारी अलथानीले विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तान र चीनको सिमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’र ल्होत्से आरोहण गर्ने पहिलो कतारी महिलाका साथै अरवी देशबाट कञ्चनजङ्घा र मनास्लुको शिखरमा पुग्ने पहिलो महिला भएको एलिट एक्सपिडिसनले जनाएको छ ।

उनले विश्वका १४ हजार मिटर अग्ला चुुचराहरु पुरा गर्ने लक्ष्य सहित आरोहणमा सहभागी छन् । अहिलेसम्म ८ हजार मिटर भन्दा माथिका १४ मध्ये ७ चुचुरो पार गरिसकेकी छिन्। १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ भने अरू पाकिस्तान र चीनमा छन् । यो सिजनमा एलिट एक्सपिडिसनबाट अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलास्डेयर स्कट म्याकेन्जीले अन्नपूर्ण आरोहण गरे ।

म्याग्दीमा ८ हजार मिटर माथिका धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए। उनीहरूले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जासँग आरोहणलाई विदेशीले सुरक्षित महसुस गर्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?