बढ्दो दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइम–कार्ड

प्रतिकात्मक तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । बढ्दो सवारी साधनको चाप, तव्र गति र साँघुरो सडकका कारण दाङमा दुर्घटनाको अवस्था भयावह बन्दै गएको देखिन्छ ।
गत वर्षको तथ्याङ्कलाई केलाउने हो भने पनि दुर्घटनाको उच्च वृद्धिदरलाई पुष्टि गर्छ । गत आर्थिक वर्षमा भएका एक सय ४८ सवारी दुर्घटनामा ५५ जनाको मृत्यु भयो । जसमा एक सय ४८ जना गम्भीर र एक सय १२ जना सामान्य घाइते भएका थिए ।

बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्लामा टाइम–कार्ड लागु गर्ने तयारी गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड एउटा उत्तम विकल्प भएको यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवालाबिच भएको छलफलले जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम–कार्ड लागु गर्ने र त्यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायी बसेर टाइम–कार्डको मापदण्ड बनाउने निर्णय गरेको थियो । दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागु गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मल्लले वताउनुभयो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतना मूलक कार्य गर्दागर्दै सवारी दुर्घटना बढ्न थालेपछि टाइम–कार्ड लागु गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताउनुभयो । जिल्लाका घोराही–लमही, घोराही–तुलसीपुरलगायतका विभिन्न रुटमा निश्चित दुरी छुट्याएर समय लागु गरिने ट्राफिक प्रहरी प्रमुख मल्ल बताउनुहुन्छ । अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका हकमा यो नियम लागु हुने हुँदा दुर्घटना न्यूनीकरण हुने आशा ट्राफिक प्रमुख मल्लको छ । ‘जिल्लामा तीव्र गतिसँगै खाल्डाखुल्डी, पुराना गाडीलगायत मानवीय गल्तीका कारण पनि दुर्घटना हुने गरेका छन्’, ट्राफिक प्रहरी प्रमुख मल्लले भन्नुभयो, ‘टाइम–कार्ड समग्र रूपमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सबैको अपेक्षा छ ।’ टाइम–कार्ड लागु गरे पनि मुख्य कुरा सचेतना आवश्यक रहेको भन्दै यसतर्फ ध्यान दिन सके धेरै दुर्घटना कम गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्ल बताउनुहुन्छ ।

दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनमा टाइम–कार्ड लागु गर्नु राम्रो भएको सार्वजनिक यातायात सञ्चालन समिति दाङका संयोजक तथा अम्किेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत बताउनुहुन्छ । जिल्लामा खास गरी साँघुरा बाटो भएको र ओभरटेक गर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै त्यसलाई रोक्न टाइम–कार्ड लागु गर्नु राम्रो भएको संयोजक बस्नेतले बताउनुभयो ।

साँघुरो र खराब बाटोसँगै ओभरटेक गर्न खोज्दा धेरै दुर्घटना हुने गरेका छन् । त्यसलाई रोक्ने हो भने दुर्घटनामा कमी आउने देखिन्छ ।’ टाइम–कार्ड लागु भए चालकले पालना गरे नगरेको प्रभावकारी रूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबही गर्न सके दुर्घटनामा कमी आउने संयोजक बस्नेत बताउनुहुन्छ । त्यससँगै क्षमताभन्दा बढी यात्रु नराख्ने, प्रत्येक गाडीले अपाङ्गमैत्री, महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई आरक्षण सिट छुट्यार लागु गरिए पनि अनुगमनको अभावमा प्रभावकारी कार्यान्वयन हुन नसकेको बस्नेतको दुखेसो छ । ‘हामीले नीति बनाउँछौँ । चालकले पालना गर्ने र ट्राफिक प्रहरीले अनुगमन गर्ने काम हो’, उहाँले भन्नुभयो, ‘अनुगमन गरेर नियमको पालना नगर्नेलाई कारबाही गरिदिए धेरै दुर्घटना कमी हुने देखिन्छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?