काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई शाखा कार्यालय तत्काल नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाहरूको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा हरेक आर्थिक वर्षको असोजभित्र शाखा कार्यालयको नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।
कार्यविधिमा वार्षिक एक हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एक, दुर्ई हजार पठाउनेलाई दुर्ई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सातवटासम्म शाखा सञ्चालन अनुमति दिने व्यवस्था छ । तर, पछिल्लो समयमा देशका मुख्य शहरमा सबै म्यानपावरका शाखा कार्यालय रहेको विभागकै कर्मचारी बताउँछन् ।
हरेक शाखा कार्यालयको धरौटी शुल्क दुर्ई लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसइई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । तर, शाखामा कर्मचारीका नाममा म्यानपावरले एजेन्ट राखेका छन् । तिनै एजेन्टले वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारसँग चर्को रकम लिने गरेको पाइएको विभागका एक कर्मचारीले बताए ।
एजेन्टले चलाएकै म्यानपावरका शाखा कार्यालयबाट कामदार बढी ठगिएको उजुरी आएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीको खोजीमा रहेका सबै कामदार सिधै म्यानपावरसम्म आइपुग्दैनन् । हरेक जिल्लामा म्यानपावरका अस्थायी कार्यालय र एजेन्ट छन् । तिनै एजेन्टले कामदारलाई काठमाडौंसम्म ल्याउने काम गर्छन् । एजेन्टले कमिसन खाएरमात्र कामदार म्यानपावरसम्म ल्याउँछन् । एजेन्टले जस्तै म्यानपावरले पनि कामदारसँग उच्च कमिसन खाएरमात्र वैदेशिक रोजगारीमा पठाउँछन् ।’ अहिले धेरैजसो आर्थिक कारोबार म्यानपावरको शाखा कार्यालयबाटै हुने गरेको उहाँको भनाइ छ ।
पूर्वको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा म्यानपावरका शाखा सञ्चालनमा रहेको विभागले जनाएको छ । तर, गत वर्ष विभागले देशका मुख्य शहरमा रहेका शाखामा अनुगमन गरेको थियो । विभागले २०७२ सालमै एजेन्ट खारेजी गरेको थियो । तर, अहिले पनि म्यानपावरको कर्मचारी भएर एजेन्टले गाउँ-गाउँबाट कामदार बटुलेर काठमाडौं ल्याउने गरेका छन् ।
३२ वटाको मात्र अनुमति
विभागको तथ्यांकअनुसार हालसम्म ३२ म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तर, सञ्चालन रहेका आठ सय ५८ वटै म्यानपावरका शाखा कार्यालय भए पनि विभागले अनुगमन गर्न सकेको छैन । जसका कारण उपत्यकाबाहिर रोजगारीको खोजीमा रहेका कामदार ठगिए भने पनि म्यानपावरले उन्मुक्ति पाउने गरेका छन् ।
एजेन्टकै भरमा ७० प्रतिशत म्यानपावर सञ्चालनमा रहेको विभागकै दाबी छ । म्यानपावर कम्पनीले विदेशबाट डिमाण्ड ल्याउनुअघि नै शाखा कार्यालयमार्फत् विज्ञापन गरी कामदारसँग अग्रिम पैसासमेत उठाउने गरेका छन् । त्यसरी कामदारसँग उठाएको पैसा म्यानपावरले भिसा व्यापारमा लगानी गर्दै आएको एक एजेन्टले बताए । उहाँका अनुसार म्यानपावर प्रायः एजेन्टमार्फत् चलेका छन् । एजेन्ट नहुने हो भने ८० प्रतिशत म्यानपावर कम्पनीले कामदार पाउँदैनन् । कामदार खोज्ने, पैसा उठाउने, कामदारसँग पैसाको कुरा मिलाउने, रोजगारीबारेमा जानकारी गराउने र काठमाडौंसम्म कामदार ल्याउने काम पनि एजेन्टकै हुने गरेको विभागले जनाएको छ ।
देशभर करिब दुर्ई हजारभन्दा बढी एजेन्टले म्यानपावरको सहयोगी भएर काम गरिरहेको दाबी विभागको छ । एजेन्टले हरेक कामदारबाट २० हजारसम्म कमिसन लिने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच