फर्निचर तथा फर्निसिङ एक्स्पो

स्वदेशी फर्निचरमैत्री नीति बनाउने मन्त्रीको आश्वासन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । 'के हामी आत्मनिर्भर छौं ?' भन्ने नाराका साथ बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) सुरु भएको छ । एक्स्पो उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । आयात मुलुकका लागि सुखद विषय नभएको भन्दै उहाँले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहल गर्ने आश्वासन दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशमा बर्सेनि अर्बौंको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफूखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुभयो । फर्निचरजन्य उद्योगलाई फरक व्यवहार नगरी एकैनासको व्यवहार गर्न आग्रह गर्नुभएका अग्रवालले समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाट नै भएको आरोप लगाउनुभयो । सरकारले निजी क्षेत्रको मनोबल बलियो बनाउँदै उद्योग व्यवसाय प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गर्नुभयो । बैंकको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थान अभाव, तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उहाँको भनाइ थियो ।

एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताउनुभयो । वर्षौं पहिले तर्जुमा भएका कानुन तथा नीति नियम समयसापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवद्र्धन गर्न उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्र चलायमान बनाउन एक्स्पो आयोजना गरिएको जानकारी गराउँदै अग्रवालले राज्यले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै आर्थिक क्रियालाप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
पाँच दिनसम्म चल्ने एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ भने गरी प्रेष्टिज कार्पेट एसोसिएट पार्टनर र पावर्ड बाइमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रिज, सरावगी ओभरसिज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

सयभन्दा बढी स्टल रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाबारेमा जानकारी तथा बिक्री गर्ने आयोजकले जनाएको छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?