प्रधानमन्त्रीद्वारा गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन, पशुपतिनाथ मन्दिर र आर्यघाट क्षेत्रमा सफा पानी उपलब्ध गराइने

सन्दीप पौड्याल
Read Time = 5 mins

काठमाडौं । काठमाडौंको गुह्येश्वरीमा फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा तीन करोड लिटरभन्दा बढी फोहोर पानी संकलन गरेर बागमतीमा पठाउने योजनाअनुसार फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभयो । उहाँले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो । बालकुमारी, सल्लाघारी र धोबीखोलामा छिट्टै फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उहाँको भनाइ छ ।

कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदीहरूलाई स्वच्छ राख्न ठूलो लगानीमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकाभित्रका बागमतीलगायत अन्य सहायक नदीलाई स्वच्छ राख्न विभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिट्टै सञ्चालनमा आउने उहाँको भनाइ छ ।

मन्त्री चौधरीले नेपाल सरकारको १५औँ योजनाअनुसार प्रशोधनसहितको फोहोर पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको बताउनुभयो । ‘हालसम्म नेपाल सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित रहेकोमा फोहोर पानी प्रशोधन कार्यलाई पनि प्राथमिकताका साथ एकीकृत रूपमा अगाडि बढाउनु आजको आवश्यकता भएको हो’, मन्त्री चौधरीले भन्नुभयो । उहाँले ढल तथा फोहोर पानी व्यवस्थापन गर्ने कार्य विभिन्न निकायबाट भइरहेको र यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको औँल्याउनुभयो । त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकालाई स्वच्छ तथा सफा राख्न विभिन्न निकायबीच सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

यसको मूल उद्देश्य पशुपतिनाथ मन्दिरको उपल्लो तटीय क्षेत्रमा फोहोर पानी प्रशोधन गरेर बागमती नदीमा बिसर्जन गर्न सकियोस् भन्ने रहेको छ । जसले पशुपतिनाथ मन्दिर र आर्यघाट क्षेत्रमा सफा पानी उपलब्ध गराउनेछ । वि.सं. २०५३ मा यस गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो । वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपश्चात्का सरकारबाट काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणको कारण पवित्र बागमती नदी र यसका सहायक नदीलाई उपत्यकाभित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्न विभिन्न प्रयासको थालनी भएको हो । प्रशोधन केन्द्रले चावहिल, गोकर्ण, मित्रपार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटारलगायत ९९५ हेक्टर क्षेत्रमा रहेको करिब तीन लाख बासिन्दालाई सेवा पुग्नेछ । यो प्रशोधन केन्द्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रशोधन केन्द्र भएको मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?