चार लाख बढी ड्यारियन ग्यापको बाटो हुँदै अमेरिकातर्फ

Read Time = 3 mins

पनामा सिटी । पनामा र कोलम्बियाबीचको भयानक जंगल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो संख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जंगल छ । जंगली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जंगलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन् ।

आप्रवासीहरूका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’ बनेको छ ।

पनामाका अधिकारीहरूलाई घना जंगल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक संख्याबारे जानकारी छैन । उनीहरूलाई यस सम्बन्धमा कसैले कुनै जानकारी उपलब्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ ।

पनामाको गृह मन्त्रालयले बुधबारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन् । कोलम्बियाबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन् ।

आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूका लागि सहायता केन्द्रहरू स्थापना गरेको छ । गृहमन्त्री जुआन पिनोले थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले रोक्न भरमग्दुर प्रयास गरिरहेको बताउनुभएको छ ।

आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानुनीरूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?