कास्कीले तनहुँलाई हरायो

हिमालय टाइम्स
Read Time = 3 mins

कास्की । क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृंखलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ ओभरमा एक सय तीन रन बनाएर सम्पूर्ण विकेट गुमाएको थियो ।

कास्कीका तर्फबाट आदित्य थापाले सर्वाधिक ३६ रन बनाउनुभयो । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले समान तीन÷तीन विकेट लिनुभयो । तनहुँले जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएकामा उसले खेलमा ६६ रनमात्र जोड्न सफल भयो । कास्कीका बलरहरू नितेश गिरीले पाँच तथा अमृत गुरुङ र विश्वास पराजुलीले दुई/दुई विकेट लिनुभयो ।

खेलमा पाँच विकेट लिनुभएका कास्कीका नितेश ‘म्यान अफ द म्याच’ घोषित हुँदै ट्रफी तथा पुरस्कार पाउनुभयो । उहाँलाई आयोजक संघका कोषाध्यक्ष वीरेन पुनले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा क्रिकेट खेल विकासमा राम्रो सम्भावना बोकेका दुई जिल्लाबीचको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडी पहिचानमा सघाउ पुग्ने विश्वास लिइएको छ । यसबाट आगामी दिनमा नयाँ खेलाडीले प्रादेशिक तथा राष्ट्रियस्तरका प्रतियोगितामा स्थान बनाउन सक्ने कास्की जिल्ला क्रिकेट संघका सचिव विनोद श्रेष्ठले बताउनुभयो ।

यसबाट खेलाडीबीच भाइचारा सम्बन्धको विकासका साथै खेल कौशलमा निखारता ल्याउने बताइन्छ । प्रतियोगिताको दोस्रो खेल शनिबार बिहान हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?