१९ अ‍ैँ एसियाली खेलकुद : भारोत्तोलनमा पनि निराशा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिनुभएको छ । एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गर्नुभयो । स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरे पनि सफल हुनुभएन ।

क्लिन एण्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाउनुभयो । क्लिन एण्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गर्नुभएको थियो । टीका ९० केजी तौल उठाउन असफल रहनुभयो ।

भलिबल
महिला भलिबलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५-४, २५-१६ र २५-१३ को सेटमा हरायो । समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियाडको महिला भलिबलमा नेपालको यो पहिलो सहभागिता हो ।

ट्रायथलन
ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेवी महर्जन १७औँ हुनुभएको छ । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएई, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् । श्रेवीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेण्डमा पूरा गर्नुभयो । ट्रायथलनमा नेपालबाट समान २-२ पुरुष/महिला गरी ४ खेलाडी सहभागी छन् । जापानकी युको ताकाहासीले स्वर्ण, चीनका चिन्यु लिनले रजत र चीनकै यिफान याङले कांस्य जित्नुभयो ।

हृयाण्डबल
महिला हृयाण्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेस्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४-१९ ले पराजित गर्‍यो । नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिञ्जाली र आइत लोमु शेर्पाले समान २-२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १-१ गोल गर्नुभयो । समूह चरणको पहिलो खेलमा नेपाल चीनसँग ५७-१० तथा जापानसँग ६२-१० ले हारेको थियो ।

सेमिफाइनलमा रोकियो पब्जी टोली
नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ । शनिबार बिहान हांगचौं इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रहृयो । नेपालले समूहमा जापानलाई भने पछि पार्न सफल भयो । यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गर्न सफल रहे । नेपाल र जापानको यात्रा भने सेमिफाइनलमा रोकिएको छ ।

नेपालले ५४ मिनेट ३३ सेकेण्डको समयमा चार राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेण्ड समय खर्चियो । कोरियाले ५० मिनेट ३७ सेकेण्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेण्ड लगाएको थियो । पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिममा रहेको थियो । तर, त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्‍यो ।

सन्तोषी र सोमपालको औसत प्रदर्शन
धावकद्वय सोमबहादुर कुमाल र सन्तोषी श्रेष्ठले १९औँ एसियाली खेलकुदअन्तर्गत आ–आफ्नो विधामा औसत प्रदर्शन गर्नुभएको छ । हांगचौँ ओलम्पिक रंगशालाको गर्मी साँझमा पुरुष ८ सय मिटरमा प्रतिस्पर्धा गरेका सोम दोस्रो हिटमा पाँचाँै हुनुभएको थियो । उहाँले ४८.६८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो । उहाँले दक्षिण कोरियाका किम उइएअन र किर्गिस्तानका रुस्लान लितोभ्स्कीलाई पछि पार्नुभयो ।

उक्त हिटमा जापानका साटो केन्तारो ४५.५७ सेकेण्डको समयसहित अन्तिम चरणमा छनोट हुनुभयो । त्यस्तै, भारतका अज्मल वारियाथोडी पनि ४५.७६ सेकेण्ड समयका साथ अघि बढ्नुभयो । यस्तै, महिला १० किलोमिटर दौडमा सन्तोषी सहभागी ८ मध्ये सातौँ हुनुभयो । उहाँले ३८ मिनेट ४०.१५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो । उहाँले पाकिस्तानकी फरहत बानोलाई पछि पार्दा बहराइनकी बोन्तु रेवितुले पूरै २५ ल्याप कुद्न सक्नुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?