कृषि, पर्यटन र हाइड्रोपावर नै देश विकासको मूल आधार : अर्थमन्त्री महत

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । अर्थमन्त्री डा प्रकाशशरण महतले देश विकासका लागि कृषि पर्यटन तथा हाइड्रोपावर नै मूल आधार रहेकोे बताउनु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ मा आइतबार आयोजना गरिएको संजीवनी बाटिका वृद्धाश्रम भवन उद्घाटन कार्यक्रम तथा ३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रमुख अतिथि समेत रहनु भएको अर्थमन्त्री महतले देशमा कृषि, पर्यटन र हाइड्रोपावरले आमूल परिवर्तन ल्याउन सकिने दावी गर्नुभयो ।

पहिलाका वर्षहरु भन्दा यस वर्ष पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको र यसबाट कमाई पनि राम्रो भएको उहाँले बताउनुभयो । पर्यटकको आगमनमा वृद्धिसँगै देशको अर्थतन्त्रमा पनि यसले टेवा पु¥याएको छ उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र उकालो लाग्ने क्रममा रहेको छ । यस सँगै कृषि आधुनिकीकरणले समेत देशको अर्थतन्त्रमा ठूलो योग्दान दिँदै आएको छ । केही वर्ष देखि नेपालमा उत्पादित विद्युत बेचेर समेत देशले राम्रो कमाई गर्न सफल भएको छ । त्यसैले यी तिनवटै क्षेत्रलाई अझ विकसित र प्रभावकारी बनाउन हामी लागि परेका छौँ ।’
समय सापेक्ष यसको विकास गर्दै जाने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो योग्दान पु¥याउने उहाँले बताउनुभयो ।

उखु किसानहरुको समस्या समाधान भइसकेको बताउँदै उहाँले उनीहरुले सरकारबाट पाउने अनुदान समेत कृषि मन्त्रालयमा पठाइसकिएको बताउनु भयो । तर के कुन कारणले उनीहरुले अहिलेसम्म रकम नपाएको बारे आफूले यस बारेमा जानकारी लिने उहाँले बताउनुभयो ।
बारामा थप भंसार संचालन गर्न गराउन अनुगमन टोली बनाइने र अनुगमन टोलीले दिएको सुझाव अनुसार बारामा मात्र होइन अरु जिल्लामा जहाँ जहाँ आवश्यकता छ थप भंसार संचालन गर्न गराउन आफूले पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

यसै गरि फास्टट्रयाक निर्माणको लागि बजेटको अभाव नरहेको तर काम सुस्त भएको कारण आम जनमानसमा दुविधा उत्पन्न भएको उहाँले बताउनुभयो ।

निजगढ विमान स्थल निर्माण गर्न गराउन सरकार लागि परेको र विमानस्थलको निर्माणको लागि पहल भइरहेको जानकारी दिनुभयो । विमानस्थल बन्ने बताउँदै उहाँले भन्नुभयो, ‘शहर बसाउने गरि नभए पनि विमानस्थलको चाहिने जग्गा मात्र लिएर विमानस्थल निर्माण गराउन तर्फ सरकार अग्रसर रहेको छ ।’

यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले देशको आर्थिक राजधानी बीरगंजको विकासमा संघीय सरकार उदासीन रहेको आरोप लगाउनुभयो ।

अहिले पनि मधेशका जनताहरुको विभेदको शिकार भएको उहाँले जानकारी दिनुभयो । देशमा विकासमा एकरुपता आउन नसकेको जुन ठाउँबाट कमाई बढी हुन्छ, त्यही ठाउँलाई उपेक्षा गरिएको आरोप लगाउनुभयो ।

संजीवनी वाटिका वृद्धाश्रमका अध्यक्ष एवं नेपाली काँग्रेसका सहमहामन्त्री फर्मूल्लाह मंसुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देवनारायण चौधरी, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षक सुरेश प्रसाद काफले लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मेघा शाहीले गर्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?