जी-२०, आर्यावर्त र स्वराज्य

केशवप्रसाद चौलागाई
Read Time = 15 mins

भारतको अध्यक्षतामा सम्पन्न जी-२० समिट परम्परागत छलफल र चर्चाभन्दा माथि उठेर सभ्यता सम्वाद र नया विश्व नेतृत्वको चर्चामा रहृयो । विश्वका शक्तिशाली तथा समृद्धि राष्ट्रहरूको साझा आर्थिक मञ्चका रूपमा रहेको जी-२० समूह रुस र यक्रेनबीचको युद्धले साझा घोषणा पत्रविनै टुंगिने संशयलाई तोड्न सफल रहृयो । सम्मेलनको सजावट तथा शृंगार, घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरणको दृश्यले छुट्टै संसारको आभास दिन सफल भयो । भारत-अमेरिका द्विपक्षीय वार्ता र सहमति पनि उल्लेखनीय कुरा थियो । सबैभन्दा महत्वपूर्ण कुरा गभर्मेन्ट अफ इण्डियाको स्थानमा गभर्मेन्ट अफ भारतको उल्लेख रात्रिभोजको निमन्त्रणमा हुनुले छुट्टै परम्पराको थालनीको संकेतका साथै बहसको प्रारम्भ हुनु थियो ।

एक पृथ्वी, एक परिवार र एक भविष्यको नारासहित ‘बसुधैव कुटुम्वकम’को मूल मन्त्रका कारण भारतलाई औपचारिक रूपमा अब उप्रान्त विश्वमा स्थापित गर्ने संकल्पले सभ्यता सम्वादको स्थितिमा पुर्‍याएको छ । यिनै नवीन अवधारणाबाट अबको भारतको मार्गचित्रका बारे थप कुरा गर्दै सभ्यता सम्वादलाई सार्थक बनाउने तथ्य खोज्नु आवश्यक देखिन्छ । ग्लोबल साउथ अवधारणालाई महत्व दिँदै अफ्रिकी महासंघलाई भारतकै प्रस्तावमा युरोपियन युनियनलाई झैँ सदस्यता प्रदान गर्नुले नयाँ विश्वव्यवस्थातर्फ भारतीय नेतृत्व अग्रसर भएको देखिन्छ । एवं प्रकार आर्थिक र सांस्कृतिक रूपले विश्वमा आफ्नो स्थान अग्रणी बनाउन स्पष्ट सिद्धान्त र अवधारणाको आवश्यकता पर्ने हुँदा ‘आर्यावर्त’ र ‘स्वराज्य’ नवीन सिद्धान्तका रूपमा प्रस्तुत गर्नु आवश्यक देखिन्छ ।

आर्यार्वत : पुण्यभूमिमध्यं विध्यहिमालयो : हिमालयदेखि समुद्रपर्यन्तको भूभागलाई पुण्यभूमि आर्यार्वतका रूपमा मान्दै विश्वलाई नै सभ्य बनाउने अभियान प्राचीनकालनमा सञ्चालन गरेको पाइन्छ । कृण्वन्तो विश्वमार्याम् अर्थात् विश्वलाई नै सभ्य बनाउने ऋषिहरूको ज्ञान र अभियान शान्ति र समृद्धिको भावना अनुरूपको थियो । आर्य जात विशेष नभई गुण विशेष भएकाले सबैका लागि स्वीकार्य थियो । ‘नवैरमुद्धीपयति प्रशान्तो नर्दपमारोहति नास्तमेति । न दुर्गातोस्मिति करोत्यकार्य तर्मायशीलं परमाहुरार्या :।।’ अर्थात् बैरभावको आगो बल्दै बल्दैन, सबैसँगै विनासितै वैरभाव गर्दैन, शान्त नै रहन्छ, घमण्ड गर्दैन, हीनता देखाउँदैन, आपद् विपद् परे पनि अनुचित काम कहिल्यै गर्दैन, यस्तो शील स्वभाव र आचरण भएको व्यक्तिलाई आर्य भन्दछन् ।

जी-२० सम्मेलन २०२३ ले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने रेल तथा समुद्रीमार्ग करिडोरको समझदारीले बेल्ट एण्ड रोड इनिसियाटिभको समानान्तर परियोजना बनाउन खोजिएको छ । आर्थिक विकल्पका साथै आर्यावर्तको अवधारणालाई पनि सँगसँगै लैजान सक्दा मात्र भारतको सभ्यताले प्रभाव पार्न सक्नेछ ।

उत्तरमा हिमालय पर्वत, दक्षिणमा विन्ध्याचल पर्वत त्यसका मध्यवर्ती देशहरूलाई समेत विद्वानहरूले आर्यावर्त भनेका छन् । उत्तरमा हिमालय पर्वत भन्नाले पूर्व बर्मा इरावती नदी, आराकान्त पर्वतमाला हुँदै उत्तर हिन्दुकुश भएर कैलाश मानसरोवर अनि अझै उत्तर पश्चिम पामिरको गाँठो भएर रुसको दक्षिणी भाग बक्षनदी, ताशकन्द, समरकन्द, बुखारा हुँदै इरानको पूर्वी भाग मराद, निरुजन्द, इरमानसम्मको भागलाई उत्तरको हिमालयले सीमा छुट्याएको छ । दक्षिणतर्फ विन्ध्याचल पर्वतका मध्यवर्ती देश कृष्णा, गोदावरी, कावेरी हुँदै रामेश्वरमसम्मको प्रदेश पर्दछ ।

विन्ध्याचल दक्षिणका देशहरू विन्ध्याचलकै मध्यवर्ती देश, जसमा आर्यहरूले बसाएका मानिसको बस्ती भएकाले ती स्थानहरू पनि आर्यावर्तभित्रै मानिन्छ । एवम प्रकार (१) ब्रहृमार्वत (२) ब्रहषिदेश (३) मध्य देशका साथै बाली, सुमात्रा, चम्पा सभ्यता (भियतनाम, कम्वोडिया, थाइल्याण्ड, गान्धार अफगानिस्तान, पाकिस्तान) मा फैलिएको आर्य सभ्यतालाई जागृत गराउन सक्दा चीनले सिल्करोडको नाउमा सुरु गरेको वान बेल्ट वान रोड अभियानको समानान्तर अभियानको सुरुवात हुन गई सनातन हिन्दुहरूको शिर ढाडो हुन सक्नेछ । आर्यावर्तको सांस्कृतिक रणनीतिक अवधारणा र अभ्यासले सभ्य समाजको निर्माण सम्भव हुनेछ । प्राचीन चिनियाँ सिल्क रोडलाई आधुनिक कनेक्टिभिटीमा समाहित गर्दै वान बेल्ट वान रोड अवधारणालाई आर्थिक प्रभावका लागि सरकारीस्तरबाट अगाडि विस्तार गर्दै अफ्रिका महादेशमा समेत प्रभाव बनाउन सकेको छ ।

प्राचीन कालमा पनि भारतीय शासनले आर्यावर्तको क्षेत्र विस्तार गर्दै लगेको पाइन्छ । ‘आसमुद्रात्तुवै पूर्वादासमुद्रात्रु पश्चिमात् । तमोरेवान्तरं गिर्योर्रायवर्त विदुर्बुधा :।।’ भन्दै पूर्व पनि महासमुद्र र पश्चिम पनि महासमुद्र साथै ती दुवै समुद्रबीचका अरू पर्वतसमेतलाई ऋषिहरूले आर्यावर्त भन्दै अभियान गरेको पाइन्छ । जी-२० सम्मेलन २०२३ ले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने रेल तथा समुद्रीमार्ग करिडोरको समझदारीले बेल्ट एण्ड रोड इनिसियाटिभको समानान्तर परियोजना बनाउन खोजिएको छ । आर्थिक विकल्पका साथै आर्यावर्तको अवधराणालाई पनि सँगसँगै लैजान सक्दामात्र भारतको सभ्यताले प्रभाव पार्न सक्नेछ । बेल्ट एण्ड रोड इनिसियटिभसँगै सि चिङ फिङ विचारधारा पनि चीनले पुर्‍याइरहेको कुरा नेपालमा भएको सि चिङ फिङ विचारधारा विषयक गोष्ठीबाट पनि सबैले अनुभूति गरेकै कुरा हुन् । गुण, श्रेष्ठता, सभ्य संस्कार वाचक आर्यलाई जातिवादी, नश्लवादी अवधारणामा ढाल्दै वर्तमानमा समाजमा फाटो र द्वन्द्व ल्याउने पश्चिमी लेखक र शासकहरूका कारण छायांमा पर्नगएको छ । चार आर्य सत्य, आर्य अष्टांग मार्गको उपदेश गर्ने भगवान गौतम बुद्धका आर्दशलाई पनि छायामा पारियो । आज समय आएको छ सभ्य समाज, शान्त समाज, समृद्धि समाज बनाउने ।

हिमाली मुलुक नेपालका हामी निवासीहरू पनि सभ्यताको पुनर्जागरणमा सक्रिय भएपश्चात मुक्तिनाथदेखि कन्याकुमारी (समुद्र) हुँदै द्वारिका, बद्रिनाथसम्मको पदयात्रा गरी आर्यावर्तको भावनालाई जागृत गराउन सफल भएका छौं । विन्ध्याञ्चललाई साधनाभूमि बनाउँदै शीतयुद्ध समाप्तिका लागि अन्तर्राष्ट्रिय शान्ति वर्ष सन् १९८६ मा एघार हजार ब्राहृमणहरूद्वारा एक महिनाव्यापी महायज्ञ गरी शीतयुद्ध समाप्त गर्न सफल हुनु यही आर्य संस्कृतिकै प्रभाव थियो । विध्याचललाई नै पुनः केन्द्र मानी मुक्तिनाथ हिमालदेखि कन्याकुमारी हुँदै द्वारिका, बद्रीनाथसम्मको यात्रा आर्यावर्तकै अभियान थियो भन्दा अतिशयोक्ति नहोला । आर्यावर्तको अवधारणा र अभियानलाई सफल बनाउन हामीले गरेका अनुसन्धान, लेख-रचना र अभियानहरू यसप्रकार रहेका छन् । (क) द्वन्द्वरूपान्तरण र शान्ति स्थापना धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका, अनुसन्धान (ख) खगोल र द्वन्द्व (ग) मुक्तिनाथदेखि सूर्वणभूमिसम्म (घ) वैदिक स्वराज्य र आर्यावर्त (ङ) आर्यावर्त र नेपाली नेतृत्व आदि छन् । जी-२० समिटमा भारतको प्रसंग उठ्नु, एक पृथ्वी : एक परिवार र एक भविष्य नारा बन्नु, बसुधैव कुटुम्बकम मूलमन्त्र बन्नु, सम्पूर्ण सजावट सनातन संस्कृतिले रंगिनु आर्यावर्तको अनुभूति गराउनु नै थियो ।

आर्यावर्तको सांस्कृतिक र सैद्धान्तिक आधारमा मात्रै भारतीय आकांक्षा परिपूर्ण हुने हुँदा बहसका रूपमा निरन्तर अगाडि बढाउनुपर्छ । भारतमै समस्याको रूपमा रहेको मणिपुरको जातीय दंगा, नक्सली सशस्त्र विद्रोह, चीनको संलग्नताका घटना तथा चीनसँगको सीमा विवादका पक्षहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्पष्ट पार्दै समाधानमा लाग्न सिक्किम विश्वविद्यालयको शान्ति शिक्षा पाठ्यक्रम तथा धार्मिकस्थलको समुचित उपयोग भारतले गर्न सक्नुपर्ने देखिन्छ । कञ्चनजंघा हिमालयदेखि समुद्रीतटसम्मका समस्याहरूलाई आर्यावर्तको अवधारणानुरूप परिभाषित गर्न सक्दा राष्ट्रिय समस्याहरू शान्तिपूर्ण तरिकाले नै समाधान गर्न सकिन्छ । सन् २०१२ मा हामीले मणिपुरसम्मको गरेको अध्यन, सिक्किममा सेमिनारमा सहभागिता तथा आफ्नो अनुसन्धान सभ्यसमाज निर्माण गर्दै द्वन्द्व व्यावस्थापन गर्न उपयोगी रहेका छन् ।

रुस–युक्रेन युद्धको घटनाबाट सिक्दै सबैले बाँच्न पाउने अवस्थाका लागि स्वराज्य र मेलमिलापको मार्गचित्रलाई भारत सरकारले अगाडि बढाउनुपर्दछ । महात्मा गान्धीलाई माल्यार्पण गरेका सबै देशका नेताले स्वराज्यको आदर्शलाई स्वीकार्ने छन् । ऋगवेदको स्वराज्यको स्वीकार्यताले रुस-युक्रेन युद्ध रोक्ने उपाय सजिलै निकाल्नेछ । घोषणापत्रमा उल्लेख गरिएको ‘मजबुत, दीर्घकालीन, सन्तुलित र समावेशी विकासमा तेजी ल्याउन काम गरिनेछ’ कार्यक्रम पनि स्वराज्यको अवधारणाले पूरा हुनेछ । प्रजातन्त्र, राष्ट्रियता र समावेशी सिद्धान्तलाई प्रतिनिधित्व गर्ने स्वराज्यले घोषणापत्रको पहिलो बुँदालाई कार्यान्वयन गर्ने सैद्धान्तिक आधार प्रदान गर्ने हुँदा भारतले विशेष रूपमा पहल गर्नुपर्नेछ । ‘आ यद् वामीयचक्ष्सा मित्र वयं च सुरयः । व्यचिष्ठे बहुपाये मतेमही स्वराज्ये ।।’

अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइमा लागि रहौं भन्ने ऋगवेदको भनाइले द्वन्द्वव्यवस्थापन, सुशासन, कानुनी शासन, मानव अधिकार तथा समावेशी विकास गर्ने आधार प्रदान गर्दछ । महात्मा गान्धीको अहिंसा र ऋगवेदको स्वराज्यको आधारमा नयाँ विश्व व्यवस्था निर्माण गर्न सकिने हुँदा त्यसतर्फ प्रयास गर्नु बुद्धिमानी हुनेछ । शान्तिका लागि सबै धर्मका प्रतिबद्धतालाई स्वीकार गर्दै जातिवाद, अहिष्णुता र आतंकवादका सबै रूपको निन्दा गर्नेछौं भन्ने घोषणापत्रको बुँदानुरूप स्वराज्यसँगै मेलमिलापको आवश्यकता बोध भएको छ ।

सबै धर्मावलम्बीसँगको सहकार्यका लागि अन्तर्धार्मिक सहकार्य तथा सबै संस्कृतिका बीच सहकार्यका लगि ‘शान्ति, न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता’ उपयोगी हुनेछन् । नेपालमा हामीले गरेका सबै प्रयास जी–२० सम्मेलनका घोषणापत्र अनुरूपका छन् । नेपालको प्रयासले पनि नयाँ विश्व व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?