इजरायलले दोस्रो चरणमा पाँच सय कामदार लैजाने श्रममन्त्रीस्तरीय भ्रमणको तयारी

रमेश भारती
Read Time = 6 mins

काठमाडौं । नेपालबाट इजरायलले सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक कामदार पठाउन पहल सुरु भएको छ । इजरायलले सहायक कामदारको रूपमा ५०० जना नेपालीलाई रोजगारीमा लिने इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल र इजरायलबीच विसं २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ साल माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

सोही सम्झौताअनुसार २०७८ सालमा पहिलो चरणमा एक हजार ६०० जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो । उनीहरूमध्येबाट एक हजार १७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीका लागि छनोट भएका थिए ।

इजरायलले पहिलो चरणको तुलनामा बढी संख्यामा सहायक कामदार लिन इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा कामदार पठाउने तयारी थालिएको छ ।

‘पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लागेको छ । सरकारले इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले तयारी सुरु भएको छ ।’ उहाँले भन्नुभयो, ‘पपुलेसन एण्ड इमिग्रेसन अथोरिटी (पिवा) सँगको छलफलमा नेपालबाट एक हजार केयरगिभर लैजानेबारे अनौपचारिक छलफल सुरु भएको छ । दोस्रोलगत्तै तेस्रो चरणमा माग गर्ने भनिएको कोटा संख्या भने थप छलफल गरेपछि मात्र तय हुनेछ ।’

इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि श्रम मन्त्रालयले गृहकार्य सुरु गरिरहेको उहाँको भनाइ छ । इजरायलमा दोस्रो र तेस्रो चरणमा कामदार पठाउने र कुटनीतिक तहमा छलफलमा गर्न चाँडै श्रममन्त्रीस्तरीय इजरायल भ्रमण हुने पनि श्रम मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासले असोज ९ गते नै नेपालीलाई दिने केयरगिभर कोटाका सम्बन्धमा छलफल गरेको छ । त्यो छलफलबाट तत्कालका लागि ५०० कोटाका बारेमा निर्णय भएर इजरायलले कामदार लिन पत्रसमेत पठाएको श्रम मन्त्रालयले जनाएको छ ।
इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक जाने गरेका थिए । तर, म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर करिब ११ सय जना भएको वैदेशिक रोजगार विभागले जनाएको छ । हाल इजरायल वैदेशिक रोजगारी, कृषि र अध्ययनमा नेपालीहरू जाने गरेका छन् । इजरायल पुरुषको तुलनामा महिला कामदार धेरै रोजगारीमा जाने गरेका छन् । केयरगिभर सेन्टरहरूले महिला कामदार मात्र बढी माग गदै आएका छन् ।

केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् । हाल इजरायलमा पाँच हजारभन्दा बढी नेपालीहरू कार्यरत रहेको सरकारी अनुमान छ । भारत हुँदैसमेत इजरायल रोजगारीमा नेपालीहरू जाने गरेका छन् ।

सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार पाँच सय ४३ डलर श्रम सम्झौतामा नै तोकिएको हुन्छ ।

इजरायल सरकारले पछिल्लो समय निर्माण, कृषि र उद्योग क्षेत्रमा नेपाली कामदार लैजान प्रस्ताव गरिरहेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन् । इजरायल विकशित देशको रोजगारगन्तव्य देशभित्र पर्ने भएका कारण पनि नेपाली युवाको आकर्षण बन्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?