१०३ वर्षीय परशुराम उपाध्याय सम्मानित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मी तम्घासका ‘दिव्य शताब्दी पुरुष’ पण्डित परशुराम उपाध्याय पन्थी सम्मानित हुनुभएको छ । तम्घासको महेन्द्र माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूद्वारा गठित महेन्द्र पूर्वविद्यार्थी मञ्चले १०३ वर्ष पुग्नुभएका उहाँलाई सम्मान गरेको हो । मञ्चको पाँचौं साधारणसभा एवं दोस्रो अधिवेशनका अवसरमा ‘दिव्य शताब्दी पुरुष’ उपाध्यायसहित विद्यालयलाई योगदान पुर्‍याउनुभएका शशी पन्थी, ताराबहादुर थापा, भरतबहादुर चन्द, चक्रबहादुर केसी र भुवनप्रसाद श्रेष्ठलाई सम्मान गरिएको हो ।

तत्कालीन समयमा पराले छाप्रोमा महेन्द्र हाइस्कुलको स्थापना गर्दादेखि हालको अवस्थासम्म प्रत्यक्ष संलग्न रहनुभएका उपाध्यायलाई रेसुंगा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले सम्मानपत्र र दोसल्लासहित सम्मान गर्नुभएको थियो ।

विसं १९७७ चैत १९ गते जन्मनुभएका उपाध्याय विसं २०२२ साउन १६ को तत्कालीन लक्ष्मीपुर गाउँसभाको निर्णयबमोजिम महेन्द्र हाइस्कुलको आर्थिक स्रोत जुटाउन गठित आर्थिक संकलन उपसमितिमा रहनुभएको थियो । उहाँ विसं २०३३ देखि विसं २०३९ सम्म, विसं २०४० देखि विसं २०४२ सम्म र विसं २०४६ देखि विसं २०४८ सम्म यस विद्यालयको व्यवस्थापन समितिमा समेत रहनुभएको थियो ।
कार्यक्रममा मञ्चले तयार पारेको पूर्वविद्यार्थी स्मारिका-२०८० र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष चूडामणि पन्थीले लेख्नुभएको संस्मरणात्मक लेखहरूको संग्रह ‘स्मृतिका झोक्काहरू’ पनि विमोचन गरिएको थियो ।

नगरप्रमुख पन्थीले महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूलाई डाक्टर, इञ्जिनियर, मन्त्री र कुशल प्रशासकका रूपमा भेट्टाएको भन्दै यहाँबाट उत्पादन भएका जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रभाव जमाएको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?