पश्चिम नवलपरासीका एग्रोभेटमा अनुगमन, अधिकांश दर्ता बिना संचालन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नवलपरासीमा सञ्चालनमा रहेका अधिकांश एग्रोभेटहरु बिना इजाजत सञ्चालन भएको पाइएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीले विषादी र बिउबिजन बिक्री वितरण गर्ने एग्रोभेटहरुको आज अनुगमन गर्ने क्रममा इजाजत बिना सञ्चालन भएको पाएको हो । अनुगमनका क्रममा बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सञ्चालन भएका एग्रोभेटहरु इजाजत बिना सञ्चालन भएको पाइएको हो ।

विषादी बिक्री गर्ने इजाजत लिएका अधिकांश एग्रोभेटहरुले इजाजात बिना बिउ बिजनसमेत बिक्री गर्ने गरेको पाइएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो । विषादीको इजाजत लिएका फर्म सञ्चालकहरुले बिउ बिजनका लागि पनि इजाजत लिनुपर्ने प्रावधान छ । तर त्यसबारे आफूहरुलाई जानकारी नभएर इजाजत नलिएको व्यवसायीहरुले अनुगमन टोलीलाई बताएका थिए । बिउ बिजनका लागि कृषि ज्ञान केन्द्रबाट इजाजत लिनु पर्ने व्यवस्था छ ।

बिउ बिजन बिक्री गर्ने एग्रोभेटले विषादीका लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने भएपनि एउटै कोठामा राखेर बिक्री बितरण गर्ने गरेको पाइएको कार्यालय प्रमुख चौबेले बताउनुभयो । अनुगमनका क्रममा भारतका बाट ल्याइएका रासायनिक मल, र म्याद गुज्रेका विषादी र बिउ बिजनहरु फेला परका थिए ।

अनुगमन टोलीले जिल्लाको रामग्राम, बर्दघाट, सुनवल नगरपालिकाका साथै प्रतापपुर र सरावल गाउँपालिकाका गरी ११ वटा एग्रोभेटको अनुगमन गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनिषा पौडेलले जानकारी दिनुभयो । जिल्लामा ४० बढी एग्रोभेट सञ्चालनमा रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

अनुगमनका क्रममा नवीकरण नगराएका र इजाजत नलिएका एग्रोभेटलाई इजाजत लिन र म्याद नाघेका विषादी र बिउ बिजनलाई छुट्ट स्थानमा राखी व्यवस्थापन गर्न व्यवसायीहरुलाई सुझाव दिइएको थियो । नियम विपरीत सञ्चालन भएका एग्रोभेटलाई सचेत गराउँदै आगामी दिनमा प्रकृया पूरा गरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. चौबेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?