अहिलेकै सरकारलाई अघि बढाउने हो, प्रधानमन्त्रीमा कसैले मुख मिठ्याउन आवश्यक छैन : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले बुधवार आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कँग्रेस अपरिहार्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताउनु भयो । उहाँले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरु कुनै सरकारको, अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन । अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ । को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ । कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, काँग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली काँग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन।’

अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?