क्रिकेट टोली स्वदेश फर्कियो

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोली बिहीबार बिहान ११ः३० मा त्रिभुवन विमानस्थल आइपुगेको थियो । नेपाल एसियाडमा क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको थियो । भारतले दिएको २०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । भारतविरुद्ध उच्च प्रदर्शन गरेपछि नेपाली क्रिकेटको चौतर्फी प्रंशसा भएको छ । समूह चरणमा भने नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

मंगोलियालाई ४१ रनले हराउँदै नेपालले २७३ रनको विश्व कीर्तिमानी जित हात पारेको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गर्नुभएको थियो ।

क्रिकेटमा कुनै पनि खेलाडीले बनाएको सर्वाधिक छिटो अर्धशतक हो । दीपेन्द्रले भारतीय पूर्वब्याटर युवराज सिंहले १२ बलमा २००७ मा इंग्ल्याण्डविरुद्ध बनाएको कीर्तिमान तोड्नुभएको थियो ।

कुशल मल्लले ३४ बलमा शतक हान्नुभएको थियो । टी-२० आई इतिहासको सर्वाधिक छिटो शतक थियो । उहाँले भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकी ब्याटर डेविड मिलरको ३५ बलको कीर्तिमान तोड्नुभएको थियो । नेपालले उक्त खेलमा एक दर्जन विश्व कीर्तिमान कायम गरेको थियो ।

दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३८ रनले हराएको थियो । नेपाली टोली आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र तयारी गर्न भारतको नागपुर जाँदैछ । विश्वकप छनोटअघि नेपाल, युएई र हङकङबीच असोज ३० देखि कात्तिक ९ गते (अक्टोबर १७ देखि २६) सम्म मूलपानी र टियु क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज आयोजना हुनेछ ।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ‘ए’ बाट विजेता टोली नेपाल आउनेछ ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलोपटक टी-२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

सोमपाल र करणलाई जनही पाँच लाखको प्रायोजन
आइएमई पेले राष्ट्रिय क्रिकेटर सोमपाल कामी र करण केसीलाई प्रायोजन गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आइएमई पेले तीव्र गतिका दुई बलर सोमपाल र करणलाई एक वर्षका लागि प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार आइएमई पेले दुवै खेलाडीलाई वर्षको समान पाँच लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौताको अवधि एक वर्षका लागि रहेको छ । दुवै खेलाडी एसियन गेम्समा सहभागी भएर बिहीबारमात्र नेपाल फर्किनुभएको हो । नेपाल क्रिकेट संघ क्यानले बिहीबार आइएमई पेसँग दुई वर्षको रणनीतिक साझेदारका रूपमा सम्झौता गरेको छ ।

सम्झौताअनुसार दुई वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको टिकेटिङ पार्टनरका रूपमा आईएमई पेमात्र हुनेछ । सोही सम्झौताअनुसार आइएमई पेले दुई खेलाडीलाई एक वर्षका लागि प्रायोजन गरेको हो । दुवै खेलाडीले लामो समयदेखि नेपालको राष्ट्रिय क्रिकेट टिममा योगदान दिँदै आएका छन् । फास्ट बलर सोमपालले पछिल्लो समय क्रिकेट टिममा अलराउण्डरको भूमिका निर्वाह गर्दै आउनुभएको छ । क्यानको पहलमा कर्पोरेट क्षेत्रका रूपमा आइएमई पेले सोमपाल र करणलाई वार्षिक प्रायोजन गरेको हो ।

विश्व कीर्तिमानी दीपेन्द्रसिंह ऐरीको बढुवा
नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्व कीर्तिमानी ब्याटिङ गरेसँगै उहाँको पद बढुवा भएको छ । उहाँ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा हुनुभएको हो । प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्व कीर्तिमान राखेको सम्मानस्वरूप उहाँलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रहरीको पोलिसी को-अर्डिनेसन कमिटी (पिसिसी) ले सो निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा उहाँको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताउनुभयो । दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आबद्ध हुनुहुन्छ । उहाँ नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुनुहुन्छ । चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा उहाँले मंगोलियाविरुद्ध नौ बलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान रच्नुभएको थियो । उहाँले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धशतक बनाएर राखेको कीर्तिमान तोड्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?