इजिप्टका राष्ट्रपति सिसी तेस्रो कार्यकालका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने

Read Time = 2 mins

काएरो । इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीले यसै वर्षको अन्त्यमा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारका रुपमा शनिबार राष्ट्रिय निर्वाचन प्राधिकरणमा आफ्नो मनोनयनपत्र पेश गर्नुभएको छ । सिसीको निर्वाचन अभियानले तेस्रो कार्यकालका लागि सिसीको उम्मेदवारीलाई समर्थन गर्दै प्रतिनिधि सभाका ४२४ सदस्य र सर्वसाधारण (मतदाता) बाट ११ लाख ३० हजारभन्दा बढी सिफारिशहरू आएको प्राधिकरणले जनाएको छ ।

दुई कार्यकाल नेतृत्व सम्हाल्नुभएका ६९ वर्षीय सिसीले गत सोमबार औपचारिक रुपमा राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । निर्बाचन आगामी डिसेम्बर १० देखि १२ सम्म हुने निर्वाचन प्राधिकरणले जनाएको छ । पूर्वसांसद अहमद अल-तान्तवीलाई राष्ट्रपतिपदको दौडमा सिसीको मुख्य प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ ।

इजिप्टको सेनाले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएको एक वर्षपछि सिसीले सन् २०१४ मा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको थियो । मोर्सीको एक वर्षे कार्यकाल र मुस्लिम ब्रदरहुडसँग उहाँको सम्बन्धको विरोधमा व्यापक विरोध प्रदर्शन भएपछि मोर्सीलाई आन्दोलनको बलमा पदबाट हटाइएको थियो ।

सन् २०१८ मा सिसीले दोस्रो कार्यकालका लागि आफूलाई अनुमोदित गर्नुभएको थियो तर सन् २०१९ मा भएको संविधान संशोधनले राष्ट्रपतिको कार्यकाल चार वर्षबाट बढाएर छ वर्ष पुर्‍याएको थियो भने राष्ट्रपति तेस्रो कार्यकालका लागि चुनाव लड्न पाउने असाधारण शक्ति प्रदान गरेको थियो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?