वैदेशिक रोजगारीमा गएका नेपालीमाथि विद्रोही समूहको आक्रमण, १९ वर्षमा ३९ को मृत्यु

रमेश भारती
Read Time = 7 mins

काठमाडौं । १९ वर्षअघि वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपाली आतंकवादी संगठनको कब्जामा परेका थिए । १५ भदौ २०६१ मा उनीहरूको वीभत्स हत्या भएको भिडियो सार्वजनिक भएको थियो । अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले उनीहरूको वीभत्स हत्या गरेको थियो । १५ भदौमा भिडियो सार्वजनिक भएपछि भोलिपल्ट नेपालका मुख्य सहरमा ठूलो तोडफोड भएको थियो । १९ वर्षको अवधिमा वैदेशिक रोजगारीको खोजीमा युद्धग्रस्त देश पुगेका २७ जना नेपाली कामदारको विद्रोही समूह र आंतककारी आक्रमणमा परी मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । १९ वर्षको अवधिमा रोजगारीको खोजीमा अफगानिस्तान, लिविया र इराक पुगेका २७ नेपालीको आतंककारी आक्रमण र आतंकवादी समूहको हमलाबाट मृत्यु भएको सरकारी तथ्यांक छ । सरकारले रोजगारीका लागि लिबिया जान पनि प्रतिबन्ध लगाएको छ । तर, चार वर्षअघि लिबियाको पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बम आक्रमण हुँदा रोजगारीका लागि त्यहाँ पुगेका नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको थियो । यस्तै, वैदेशिक रोजगार रोजगारीका लागि अफगानिस्तान गएका १४ नेपालीले आतंकवादीको आक्रमणबाट ज्यान गुमाएका थिए ।

२०७३ असारमा अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा नेपालीले ज्यान गुमाएका थिए । नेपाली सुरक्षागार्ड सवार मिनीबसलाई लक्षित गरी भएको आक्रमणमा १२ जना नेपालीको मृत्यु भएको थियो । चार वर्षअघि अफगानिस्तानको राजधानी काबुलमै आतंकवादी विस्फोटमा रोजगारीका लागि त्यहाँ पुगेका दुईजना नेपालीको पनि मृत्यु भएको थियो । चार वर्षभित्र ज्यान गुमाउने नेपाली तालिवानी समूहले नै गरेको आक्रमणमा परेका थिए । ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको रोजगारीका लागि अफगानिस्तान गएका थिए । अफगास्तिानमा भने ग्रिन जोनमा सुरक्षा गार्डका लागि जान खुला गरिएको थियो । त्यही क्षेत्रमा अमेरिकी सेना बसेको क्याम्पका रोजगारीका लागि पुगेको नेपालीहरूले ज्यान गुमाएका थिए ।

इराक र लिबिया रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ । लिबिया रोजगारीका लागि नेपाली दलालमार्फत जाने गरेको पाइन्छ । अफगास्तिान, लिबिया, इजरायल र इराकमा गरी आतंककारी हलमामा परी ६० जनाभन्दा धेरै वैदेशिक रोजगारीमा गएका नेपाली घाइते भएको श्रम मन्त्रालयले जनाएको छ । नेपालीहरू रोजगारीमा पुगेका देशमा प्राय नेपाली कूटनीतिक नियोगको पहुँच छैन । जसका कारण नेपाली कामदार आक्रमणमा पर्दा, मृत्यु, अलपत्र र समस्यामा परेको समय उद्धारका लागि तेस्रो देशको सहयोगमा स्वदेश ल्याउनुपर्ने अवस्था छ । अवैध बाटो हुँदै नेपालीहरू रोजगारीका लागि युद्धग्रस्त देश पुग्ने गरेका कारण तथ्यांक नहुने गरेको र उनीहरू समस्यामा पर्दा उद्धार गर्न समस्या भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालीहरू रोजगारीका खोजीमा कसरी पुग्छन् । त्यहाँ पुगेका कामदारको तथ्यांक नहुँदा अथवा केही ठूला घटना घटेपछि मात्र सरकारलाई जानकारी हुने गरेको उहाँको भनाइ छ । हाल नेपाली रोजगारीका लागि १८९ वटा देश रोजगारीको खोजीमा पुग्नेगरेको श्रम मन्त्रालयको तथ्यांकमा छ । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा एकसाथ सयौँ रकेट आक्रमण गरेका थिए । उक्त हमलामा वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरू पनि परेको सामाजिक सञ्जालमा सूचना बाहिरियो । तर, इजरायलमा हमासको आक्रमणपछि कुनै पनि नेपाली अपहरणमा नपरेको एनआरएन इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले जानकारी दिनुभयो । इजरायली डिफेन्स फोर्स (आइडिएफ) सित सम्पर्कमा गर्दा कुनै पनि नेपाली समूदायका व्यक्ति अपहरणमा परेको सूचना नपाइको जानकारी दिँदै भण्डारीले भन्नुभयो, ‘यहाँ (इजरायलको) प्रतिरक्षा प्रणाली अब्बल छ । नेपालीहरू पनि अहिलेसम्म सुरक्षित छन् । त्यसैले अहिल्यै धेरै डराउनुपर्ने स्थिति छैन ।’

इजरायलस्थित नेपाली दूतावासका मिसन उपप्रमुख अर्जुन घिमिरेले आक्रमणमा परी घाइते भएको विद्यार्थीको बारेमा इजरायलको विदेश मन्त्रालय अथवा अध्यागमनमार्फत जानकारी लिने काम भइरहेको जानकारी दिनुभयो । हाल इजरायलमा १० हजारको कामदार कार्यरत रहेको र उनीहरू अहिलेसम्म सुरक्षित नै रहेको घिमिरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?