कालीकोट । दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षणमा यहाँका स्थानीय सरकार र संघसंस्थाहरू जुटेका छन् । सामुदायिक वन घोषणा हुँदा पनि दिन प्रतिदिन वन विनाश तथा चोरी शिकार बढ्दै गएपछि यहाँ पाइने रेडपाण्डा जोखिममा परेकाले जनप्रतिनिधिहरू यसको संरक्षण अभियानमा सक्रिय भएका हुन् ।
रेडपाण्डा नेटवर्कको सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरन्डेक) नेपालको सहजीकरण र तिलागुफा नगरपालिका वडा नं. १ को महादेव सामुदायिक वनमा तिलागुफा नगरपालिका नगर प्रमुख, डिभिजन वन कार्यालय र हाब्रे संरक्षणसम्बन्धी काम गर्ने हुरन्डेक नेपालका प्रतिनिधिहरूको संयुक्त टोलीले तिलागुफाको लेकाली भाग रुडुबन्चुलगायतका लेकमा यसको बासस्थान र अवस्था बुझ्न स्थलगत अनुगमन गरेको छ ।
स्थानीय सरकार सञ्चालनको पहिलो आधार जैविक विविधता अर्थात् प्राकृतिक सम्पदा जल, जमिन, जडीबुटी भएकाले रेडपाण्डा संरक्षणको जिम्मा जनप्रतिनिधिहरूको काँधमा आएको तिलागुफा नगरपालिका नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताउनुभयो ।
विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र जडीबुटी र वन जंगलको संरक्षण गर्न सकेमात्र यहाँको विकास र समृद्धि यसैबाट हुने बताउँदै नगर प्रमुखले भन्नुभयो, ‘रेडपाण्डाको संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती दुवै छन् ।’ उहाँले भन्नुभयोे, ‘यसको संरक्षणका लागि सबैको पहल आवश्यक रहेको छ ।’
उहाँले भन्नुभयो, ‘तीन दिनसम्म हामीले रुडुबन्चुलगायतका सामुदायिक वनमा अनुगमन गरेका छौँ, टोलीले रेडपाण्डा त भेट्टाउन सकेन तर रेडपाण्डाको दिसा र बस्ने रूखका टोड्काहरू फेला पारेका छौँ । यसले गर्दा यो ठाउँमा रेडपाण्डाको बासस्थान रहेको देखिन्छ ।’
बढ्दो जनसंख्या र वनजंगल फँडानीले रेडपाण्डा लोप हुँदै गएकाले जंगलमा रहेका सबै जनावरहरूको संरक्षण आवश्यक रहेको डिभिजन वन कार्यालयका प्रतिनिधि दीपराज सन्ज्यालले बताउनुभयो । उहाँका अनुसार प्राकृतिक स्रोत र साधनलाई उपयोग गर्न जिल्लामा भएका दुर्लभ वन्यजन्तु र पशुपन्छीको संरक्षणमा स्थानीय सरकार बढी अग्रसर हुनुपर्ने समेत उहाँले बताउनुभयो ।
राष्ट्रिय वन छाडा हुने भएकाले रेडपाण्डा संरक्षण गर्न चुनौती छ । तर, सामुदायिक वनसँग मिलेर रेडपाण्डा संरक्षणका लागि कार्यक्रम चलिरहेको छ । पहिलो चरणमा जंगलमा ब्लक निर्माण गरेर अनुसन्धान थालिएको छ । जसले रेडपाण्डा भए/नभएको अनुसन्धान गर्न मद्दत पुग्छ । जंगलमा प्राकृतिकरूपमा बग्ने पानी रेडपाण्डालाई खान सहज होस् भनेर दह बनाएर संकलन गरेर राखिएको हुरन्डेक नेपालका प्रतिनिधि दिलिपकुमार शाहीले बताउनुभयो ।
रेडपाण्डामैत्री बिरुवा रोपिएको छ । भुजपत्र, निगालो र देवदारका बिरुवाको रोपणमा जोड दिइएको छ । यद्यपि, रेडपाण्डाको संख्या भने यकिन गर्न सकिएको छैन । रेडपाण्डा नेटवर्कले अहिले हरेक सामुदायिक वनमा वन अभिभावक राखेका छन् । एउटा सामुदायिक वनमा दुईजना वन अभिभावक खटिन्छन् । उनीहरू जंगल जोगाउने र रेडपाण्डाको चालचलन र अवस्था अवलोकन गरिरहन्छन् । उनीहरू संरक्षित क्षेत्रको अवलोकनका साथै रेडपाण्डाको चोरी शिकारीका बारेमा समेत जानकारी लिन्छन् । साथै उनीहरूले रेडपाण्डाको ताजा अपडेटबारे जानकारी गराउँदै आएको शाहीको भनाइ छ ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एकदेखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । कालीकोटमा यसभन्दा अगाडि महावै र शुभकालिकामा रेडपाण्डासहित यसको बासस्थान रहेको भेटिएको थियो ।
यसरी तीव्ररूपमा जनचेतना प्रदान हुँदा रेडपाण्डाको चोरी शिकारी कम भएको स्थानीयहरूको भनाइ छ । तर, जथाभावी डोजर प्रयोग गरेर सडक निर्माण गरिँदा रेडपाण्डा संरक्षणमा चुनौती देखिएको बताइन्छ । जंगल क्षेत्रमा जथाभावी हर्न बजाउनेदेखि गाडी कुदाउने गर्नाले रेडपाण्डालाई बस्न असहज भइरहेको स्थानीय अगुवाहरूको भनाइ छ ।
विश्वमा रेडपाण्डा पाइने ५ वटा देशमध्ये नेपाल पनि एक हो । कर्णाली भने रेडपाण्डा सम्भावित क्षेत्रका रूपमा चिनिन्छ । तर, सरकारी लगानी भने रेडपाण्डा जोगाउनमा केन्द्रित भएको पाइँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच